औषधि छर्कंदै ललितपुर महानगर

  चैत १७, २०७६

ललितपुर, चैत १७ : ललितपुर महानगरपालिकाले कीटनाशक औषधि छर्केको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम न्यूनीकरण गर्न महानगरका विभिन्न वडामा औषधि छर्किएको हो ।

शनिबार कुपन्डोल, पुल्चोक, जावलाखेल, महालक्ष्मीस्थान, लगनखेल सातदोबाटो, ग्वार्को लगायतका क्षेत्रमा औषधि छर्किएको महानगरपालिकाका जिन्सी शाखाका प्रमुख सागर थापाले बताउनुभयो । ललितपुर महानगरका २३, २४, २७ र २९ वडामा आइतबार औषधि छर्किएको उहाँले जानकारी दिनुभयो । महानगरले औषधि छर्कने क्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

वडा नं. २७ का अध्यक्ष बाबुराज महर्जन भित्री सडकमा समेत कीटनाशक औषधि छर्ने तयारी भइरहेको बताउनुभयो । वडा नं. २४ का चोक, गल्ली र मूल बाटोमा औषधि छर्किएको वडाध्यक्ष दिनेश कार्कीले बताउनुभयो । वडा नं. १८ मा भने सोमबार बिहानदेखि औषधि छर्कने वडाध्यक्ष पुरुषोत्तम खड्काले बताउनुभयो । वडा नं. २४ ले वडावासीलाई घर बाहिर ननिस्कन आह्वान गर्दै माइकिङ पनि गरेको छ ।

साथै मानिस भेला हुने चिया पसल लगायत अन्य पसल बन्द गर्न आह्वान गरेको अध्यक्ष दिनेश कार्कीले बताउनुभयो । त्यस्तै आफैँले उत्पादन गरेको मास्क र सेनिटाइजर ललितपुर महानगरपालिकाले वडामा पठाएको महानगर प्रमुख चिरिबाबु महर्जनका निजी सचिव राजु महर्जनले जानकारी दिनुभयो । थप मास्क उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत वडामा पठाइएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया