देशव्यापी बन्द गर्नुको विकल्प नभएको प्रधानमन्त्री मोदीको भनाइ

  चैत १६, २०७६

नयाँ दिल्ली, चैत १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति माफी माग्नुभएको छ ।

भारतमा मङ्गलबारदेखि लागु भएको एक साता नपुग्दै प्रधानमन्त्रीले यसबाट नागरिकलाई तत्काल कठिनाई परे पनि अन्ततः यसले नागरिकको हित नै गर्ने बताउनुभयो ।

आइतबार रेडियो कार्यक्रम ‘मन की बात’मा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिबहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “ सरकारले सबै जनतालाई सुरक्षित राख्नका लागि चाहेको र यो निर्णयको कुनै विकल्प नरहेको बताउनुभयो ।

प्रधानमन्त्री मोदीले अहिलेको संकटमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि उक्त कार्यक्रममार्फत् दिनुभएको थियो । लकडाउन हुँदाहुँदै दिल्लीबाट हजारौँ मानिसहरु पैदल हिँडेरै अहिले गाउँगाउँ गइरहेका छन् । भारतमा आइतबारसम्म कोरोना भाइरसका कारण २५ जनाको ज्यान गइसकेको छ भने करिब हजार जना संक्रमित भइसकेका छन् ।

श्रमिकलाई दिल्लीमै रहन मुख्यमन्त्री केजरीवालको आग्रह
यसैबीच दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्वदेशी तथा विदेशी कामदारलाई दिल्लीमा नै रहन आग्रह गर्नुभएको छ ।

उहाँले सरकारले जस्तै कठिनाईमा पनि श्रमिकलाई वेवास्ता गर्न नसक्ने बताउनुभयो । हामीले देश निर्माणमा अहम् भूमिका खेल्ने सबै श्रमिकलाई विपत्मा विर्सने छैनौ ।

उहाँले दिल्लीबाट भारतका अन्य राज्य तथा नेपाल र अन्य एशियाली मुलुकका लागि गाडीको व्यवस्थापन गर्न बसपार्कमा भेला भएको मानिसहरूलाई सङ्केत गर्दै यसले झन् समस्या निम्त्याउने बताउनुभएको थियो ।

केजरीवालले भन्नुभयो, “लकडाउनको मन्त्र जो जहाँ छ त्यही रहने हो । यदि हामीले यसलाई पालना गरेनौँ भने हामीले कोरोनाभाइरस विरूद्धको लडाईलाई जित्न कठिन पर्नेछ ।”

तपाईको प्रतिक्रिया