कालोबजारी गर्ने एक पक्राउ

  चैत १६, २०७६

जलेश्वर, चैत १६ : महोत्तरी जिल्लाको रामगोपालपुर बजारमा कालोबजारी गरिरहेको बखत अनुगमन टोलीले एकजनालाई पक्राउ गरेको छ । कोरोना संक्रमणको महामारी रोक्न सरकारले घोषणा गरेको लकडाउनको मौका छोपेर कालोबजारी गर्ने रामगोपलपुर नगरपालिका वडानं. ५ का ५० वर्षिय विनोद यादवलाई पक्राउ गरिएको हो ।

तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यास र ग्यासमा प्रयोग हुने सामानहरु बिक्री गरेको अभियोगमा रामगोपाल नगरपालिकाका उपप्रमुखसहितको अनुगमन टोलीले पक्राउ गरेको हो । उपप्रमुख सीता देवीको नेतृत्वमा निस्केको बजार अनुगमन टोलीले अन्य पसलेहरुलाई समेत यसमा सचेत गराएको जनाइएको छ ।

बजारमा विक्री हुने ग्याँसको मूल्य भन्दा ६ सय रुपैया बढी लिइरहेको कारण उनलाई पक्राउ गरि आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रामगोपालपुरलाई जिम्मा लगाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया