नेपालबाट एक साताअघि भारत फर्किएका युवामा कोरोना संक्रमण

  चैत १६, २०७६

नयाँदिल्ली, चैत १६ : नेपालबाट केही दिनअघि मात्र फर्किएका भारतको हरियाणा राज्यको अम्बाला शहरका एक २१ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पटियाला नजिकको रामनगर गाउँका स्थायी बासिन्दा उनी अघिल्लो सातामात्र नेपालबाट फर्किएका थिए ।

उनलाई नेपालमै भाइरसको संक्रमण भयो वा भारत आएपछि भयो भन्ने चाँही खुलेको छैन । संक्रमित युवालाई हाल अम्बालाकै सिभिल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिफ मेडिकल अफिसर डा. कुलदिपले शनिबार साँझ आएको प्रयोगशाला रिपोर्टमा ती युवामा कोरोना पुष्टि भएको बताए । अहिले उनको अवस्था स्थिर रहेको समेत डा. कुलदिपले जानकारी दिए ।

‘उनी १९ मार्चमा नेपालबाट इण्डिगो एयरलाइन्सको विमान चढेर भारत आएका रहेछन् । परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । अहिले उनको अवस्था भने सामान्य छ,’ डा. कुलदिपलाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनले जनाएको छ ।

संक्रमित युवा कामका लागि अर्का एकजना साथीसँगै गत ९ मार्चमा नेपाल गएका थिए । त्यसपछि उनी १९ मार्चको अपरान्ह तीन बजेको काठमाडौंबाट दिल्ली फर्किएका थिए । दिल्ली विमानस्थलमा जाँचका क्रममा उनको स्वास्थ्य अवस्थामा सामान्य भएकाले उनलाई घरमै गएर होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको थियो ।

दिल्ली ओर्लिएपछि मेट्रोबाट कश्मिरीगेट पुगेर बस चढी उनी आफ्नो गाउँ रामनगर पुगेका थिए । गाउँ पुग्दासम्म पनि कुनै समस्या नभएको उनले कान्तिपुरसँग फोनमा बताए । ‘९ देखि १९ मार्चसम्म नेपालमा थिएँ, त्यहाँ मलाई कुनै समस्या थिएन,’ उनले भने ।

२० देखि २६ मार्चसम्म उनी घरमै बसेका थिए । २६ मार्चमा चर्को ज्वरो र पेट दुख्ने भएपछि घरमै औषधि खाएका थिए । तर, पनि राम्ररी ठिक नभए पछि उनलाई नजिकैको सिटि सिभिल अस्पताल पुर्‍याइएको थियो । जहाँ उनको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

शनिबार राति आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमरण रहेको पुष्टि भएको हो । उनलाई कोरोनालागेको पुष्टि भएपछि अहिले पुरै परिवार त्रसित बनेको छ । र, सबैलाई आइसोलेसनमा राखिएको छ । ‘केही दिनअघि ज्वरो आउने र पेट दुख्ने समस्या भएको हो, खै कसरी यस्तो रिपोर्ट आयो,’ उनले भने ।

उनलाई कोरोना पुष्टि भएपछि नेपालबाट सँगै आएका अर्का युवाको पनि स्वास्थ्य परीक्षण गरिएको छ । तर, उनको रिपोर्ट आइनसकेको डा. कुलदिपले बताए । युवालाई कोरोना पुष्टि भएपछि प्रशासनले उनको गाउँ रामनगरलाई पुरै नियन्त्रणमा लिएर र उनको सम्पर्कमा आएकाहरुको खोजी शुरु गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया