निर्यातयोग्य नरहेको भन्दै तिब्बतमा रोकिए कोरोना परीक्षण गर्ने किट

  चैत १६, २०७६

काठमाडौं, चैत १५ : चीनको एक व्यापारिक कम्पनीले ‘अनुदान’मा दिएका करिब दुई हजार थान कोरोना टेस्टिङ (परीक्षण) किटसहितका सहायता सामग्री निर्यात योग्य नरहेको भन्दै तिब्बत सरकारले नेपाल पठाउन रोकेको छ ।

बेइजिङबाट पठाइएको चार दिनपछि शनिबार ल्हासा पुगेका सामग्री चीनको स्वास्थ्य विभागले जाँच गर्दा निर्यात गर्ने सूचीमा नरहेको भन्दै तिब्बतस्थित विदेश विभागको कार्यालयले रोकेको जानकारी प्राप्त भएको ल्हास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

महावाणिज्य दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले शनिबार अपरान्हमात्र विदेश विभागले निर्यात गर्ने सूचीमा नरहेको भनी जानकारी गराएपछि आफूहरुले ती कार्गो सामग्री जिम्मा नलिएको बताए । अनलाइनखबरसँग कुरा गर्दै राईले ती सामान बेइजिङमै फिर्ता गरिने जानकारी दिए ।

केही दिनअघि कोरोना संक्रमणविरुद्ध नेपाललाई एउटा निजी चिनियाँ कम्पनीले टेस्टिङ किटहरु सहयोग गरेको थियो । बेइजिङस्थित नेपाली दूतावासमार्फत् हस्तान्तरण गरिएका सामग्री ल्हासा पुग्नै चार दिन लागेको राईले बताए ।

यसबीचमा चिनियाँ स्वास्थ्य विभागले ती सामग्रीको गुणस्तर मापन गर्दा निर्यात योग्य नदेखिएको भन्दै नेपाल पठाउनबाट रोकेको हो । ती सामग्री चीन सरकारले दिएका भने होइनन् । ती सामग्रीको गुणस्तरमा चीन सरकार विश्वस्त हुन नसकेपछि रोकिएको स्रोतले जनाएको अनलाइनखबर उल्लेख छ ।

तपाईको प्रतिक्रिया