महामारी रोकथामको तयारीबारे राष्ट्रपतिले लिइन् ब्रिफिङ

  चैत १५, २०७६

काठमाडौं, चैत १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को संक्रमणले नेपालमा पारेको असर र त्यसको तयारीबारे सरकारबाट जानकारी लिएकी छन् ।

कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडालाई बोलाएर राष्ट्रपति भण्डारीले संक्रमण रोकथाम र नियन्त्रणमा सरकारको तयारीबारे बुझेकी हुन्।

‘स्वास्थ्यकर्मीहरूलाई अत्यावश्यकीय सामाग्री पुगेन भन्‍ने सुन्छु, ‘राष्ट्रपति भण्डारीले मन्त्रीद्वयसँग गरेको कुराकानी उद्धृत गर्दै शितल निवास स्रोतले भन्यो, ‘मानव जगतमाथि आइपरेको यो संक्रमणविरुद्धको तयारीका लागि कुनै कसर बाँकी नराख्‍नु ।’

भेटमा मन्त्रीद्वयले सरकारले गरेको तयारी र अहिलेसम्मको अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए। उनीहरूले चीनको गोन्जाओबाट शनिबार रातिसम्ममा अत्यावश्यकीय स्वास्थ्य किट आइपुग्‍ने र आइतबार प्रदेशहरूमा आवश्यकताअनुरुप वितरण गरिने बताएका थिए।

व्यापारीहरूले किनेर राखेको स्वास्थ्य सामाग्रीहरू लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार दिउँसो गोञ्जाओ गएको छ। तर यता संक्रमितहरुको संख्या बढिरहेकाले सरकार अझै सजक हुनुपर्ने र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने किट जतिसक्दो छिटो अस्पतालहरूमा पुर्याउनुपर्ने माग भइरहेको छ।

राष्ट्रपतिसँगको छलफलपछि रक्षामन्त्री पोखरेलले शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि परामर्श गरेका छन्। ओलीसँग उनले अति विपन्‍न परिवारका लागि सरकारले ल्याउन तयारी गरेको आर्थिक प्याकेजका बारेमा छलफल गरेका हुन्।

‘भोलि बस्‍ने मन्त्रिपरिषद् बैठकले ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्ने सम्भावना छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीज्यूकाबीचमा प्याकेजको मोडालिटीबारे परामर्श भएको छ।’

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय नाकाहरू आइतबार मध्यरातिसम्म बन्द गर्ने निर्णय गरेको थियो। यस विषयमा पनि आइतबारको मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने सम्भावना रहेको इकान्तिपुर अनलाइनले जनाएको छ।

तपाईको प्रतिक्रिया