प्रादेशिक अस्पताल जनकपुर कोरोना उपचारको तयारी अवस्थामा

  चैत १५, २०७६

धनुषा, चैत १५ : प्रदेश २ को राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमितको उपचारका लागि चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) उपलब्ध गरे आइतबारदेखि सेवा दिन तयारी अवस्थामा रहेको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले सम्भवतः आइतबारदेखि प्रादेशिक अस्पतालले सेवा शुचारु गर्ने गरि तयारी गरेको बताउँदै यसका लागि आकस्मिक बैठक पनि बोलाइएको जानकारी दिनुभयो । उहाँले विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न प्रादेशिक अस्पतालले आन्तरिक तयारी पुरा गरिसकेको जानकारी दिनुभयो ।

डा. यादवले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अस्पतालका सम्पूर्ण वार्डको सेवा बन्द गरेर अहिले आकस्मिक सेवा मात्र सञ्चालन गरिएको बताउनुभयो । उहाँले एक जना पोजेटिभ देखिएको खण्डमा एक दिनमा मात्र थर्ड लेयरको (पिपिइ) दैनिक रुपमा २५ देखि ३० आवश्यक रहेको तर आफूहरुसँग अहिले निक्कै कम भएकाले थप सामानको माग गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना भाइरसविरुद्ध लड्न तथा आम जनतालाई सेवा दिन हामीहरु दृढ सङ्कल्प सहित तयार छौं ।” उहाँले जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, ए आइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्वीपरको रिजर्भ पुल निर्माण गरिसकेको बताउनुभयो ।

ज्वरो क्लिनिक, इमरजेन्सी आइसोलेसन वार्ड र संभावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई काम गर्न खटाइसकिएको डा. यादवले बताउनुभयो । उहाँले चिकित्सक तथा पारामेडिकल कर्मचारीका लागि चाहिने सामानको जोहो गरिदिन सङ्घ तथा प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया