औषधि व्यवसायीद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

  चैत १५, २०७६

काठमाडौं, चैत १५ : कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा औषधि व्यवसायी सङ्घ कास्कीले जिल्ला प्रहरी कार्यालयलाई कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सङ्घका अध्यक्ष बिक्रम पन्तको नेतृत्वमा केही पदाधिकारीले आज प्रहरी कार्यालय पुगेर उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । पन्तले विभिन्न क्षेत्रमा सुरक्षा प्रदान गर्न खटिरहने प्रहरीमा झन् ठुलो सङ्क्रणको जोखिम रहने भन्दै सङ्घले सुरक्षा सामाग्री हस्तान्तरण गरेको बताउनुभयो । उहाँले सुरक्षाकर्मीलाई आवश्यक पर्ने ग्लोव्स, मास्क, ह्याण्डस्यानिटाइजर बनाउन प्रयोग हुने ग्लिसिरिन, स्प्रिटलगायतका सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

सङ्घका केन्द्रिय सदस्य टङ्क अधिकारीले विशेष स्वास्थ्य क्षेत्रसँग आवद्ध व्यवसायीले यतिबेला व्यावसायिकता भन्दा माथि उठेर सामाजिक दायित्व पुरा गर्नुपर्नेे बताउनुभयो । त्यसैगरी सङ्घका गण्डकी प्रदेश अध्यक्ष रामबहादुर केसीले जिल्ला शाखाले अहिलेको अवस्थालाई मध्यनजर गर्दै सहयोगमा जुट्नु सकारात्मक भएको बताउनुभयो । उहाँले अहिले औषधी व्यवसायीसमेत संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाएर सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

सङ्घका महासचिव पूर्ण बस्नेत काजीले उक्त सामग्री एभरेष्ट सर्जिकल एण्ड ल्याब ट्रेड कन्र्सन, रुषा फर्मा इन्टरप्राइजेज प्रा.लि, सृजना मेडिसिन सप्लार्यस, चिराग फार्मेसी, अन्नपूर्ण मेडिको फर्मा, फर्मा केयर औषधि पसलले सहयोग गरेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले सुरक्षाकर्मीको जिम्मेवारी र संवेदनशीतालाई बुझेर सङ्क्रमणबाट जोगिने सामग्री उपलब्ध गराएकामा सङ्घलाई धन्यवाद ज्ञापन गर्नुभयो । (तस्बिर उपलब्ध छ)

तपाईको प्रतिक्रिया