काठमाडौं, चैत १५ : लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका अस्ट्रेलियाली पर्यटकलाई नेपाल वायुसेवा निगमको वाइडबडी विमानले उद्धार गर्ने भएको छ । आउने बुधबार वाइडबडी विमान अस्ट्रेलियाली नागरिक बोकेर सिड्नी उड्ने पक्कापक्की भएको छ ।
निगमको अपरेसन विभागका निर्देशक दिपुराज ज्वारचनका अनुसार, शनिबार अस्ट्रेलियन दूतावासले निगमको वाइडबडी विमान चार्टर उडान गर्ने पक्कापक्की गरेको हो । ‘एक साताभित्र हामी काठमाडौंमा रहेका अस्ट्रेलियाली पर्यटकलाई सिड्नी चार्टर उडानबाट लैजाँदै छौं,’ निर्देशक ज्वारचनलाई उद्धृत गर्दै इकान्तिपुरले जनाएको छ ।
दूतावाससँग लिखित सम्झौता एक/दुई दिनमा हुनेछ । स्रोतका अनुसार निगम अघि दूतावासले कतार एयरवेजको विमानबाट उद्धार गर्न छलफल गरेको थियो। तर, अन्तिमसमयमा कतारसँग कुरा नमिलेपछि निगमको वाइडबडी लिने पक्कापक्की भएको हो ।
निगमसँग २७४ सिट क्षमताका दुईटा एयरबसका ३३० वाइडबडी विमान छन् । निगमले वाइडबडी विमानबाट चीनको छेन्दु, ग्वाङजाउ र कुनमिङमा पनि चार्टर उडान गर्दैछ। तर यी सहरबाट कार्गो उडान हुनेछ ।