कोरोना संक्रमित युवाको गुनासो : औषधि र तातो पानीसम्म सोध्न आउँदैनन्

  चैत १५, २०७६

काठमाडौं, चैत १५ : दुई महिनाको छुट्टी मनाएर करिब चार महिनाअघि मात्रै म कामका निम्ति दुबई गएको थिएँ । तर कोरोना भाइरसको संक्रमण फैलिएपछि कम्पनीले घर बिदा दियो । चैत ७ गते म फ्लाई ईमिरेटसको विमानमार्फत् भारतको दिल्ली आएँ । 

त्यहाँंबाट बिस्तारा एअरलाईन्सको कनेक्टिङ फ्लाईटमार्फत् त्यसै दिन काठमाडौं आएँ। धापासीबाट मामाको छोरा मलाई लिन मोटरसाईकलमा आएको थियो। त्यो दिन त्यहीं बसेर भोलीपल्ट चैत ८ गते दिउँसो २ बजेको बुद्ध एअरको विमानबाट नेपालगंज पुगें। त्यहाँबाट अटो चढेर कोहलपुर र त्यहाँबाट माईक्रो चढेर राति घर आएँ।

घर आएको भोलीपल्ट हल्का ज्वरो आयो। अलि अलि कफ पनि आएको थियो। घरका मान्छेले अस्पताल जानुस् भनेपछि म ११ गते मामाकै छोराको मोटरसाईकल चढेर सेती अञ्चल अस्पताल आएँ। डाक्टरहरुले मेरो छातीको एक्सरे गरे। रगत र पिसाबको जाँच गरे। त्यतिबेला सबै नर्मल देखिएको छ भनेका थिए। मेरो नाक र घाटीबाट र्‍यालजस्तो पदार्थ निकालेर काठमाडौंमा जाँच गर्न पठाएका थिए ।

हिजो (शुक्रबार) पो काठमाडौंमा गरिएको परिक्षणमा मलाई कोरोना संक्रमण भयो भन्ने कुरा सुने। यो कुरा पनि परिवारका मान्छेले भनेरमात्र थाह पाएको। अस्पतालका डाक्टरले त औपचारिक रुपमा यति पनि जानकारी दिएका छैनन् ।

मलाई कसरी कोरोना लाग्यो होला भनेर छक्क परेको छु। जबकी म दुबईबाट आउंँदा नै बढो ख्याल गरेर आएको थिएँ। मैले मास्क लगाको लगाई गरेको थिएँ। उतै किनेको स्प्रे गर्न मिल्ने स्यानीटाइजर पनि हातमा दलिरहन्थें। म ३५ बर्षको भएँ। सुगर, प्रेसरजस्तो केही रोग पनि ममा थिएन।
अस्पतालमा म एउटा कोठामा थुनिएजस्तो भएको छु ।

मलाई संक्रमणको पुष्टि भएपछि आज परिवारका मबाहेकका ८ जना नै जाँचका लागि अस्पताल आउनु भएको छ। हिजो अस्ति त परिवारकै मान्छेले खानेकुरा ल्याईदिन्थे। अब आजबाट कसले पो ल्याईदेला ! आज बिहान दाईले रोटी तरकारी ल्याईदिएका थिए। त्यही खाएँ। केही फलफुल पनि छ कोठामा। आज त्यसैले खाजा टार्नुपर्ला ।

अस्पतालले खासै राम्रोसँग उपचार गरिरहेजस्तो पनि देखिन्न। सुरुको दिन जाँचपछि मलाई सिटामोल दिइएको थियो। आजसम्म त्यही मात्रै हो मैले खाएको। अब एउटा सिटामोल बाँकी छ। कोठाभित्र अस्पतालको भन्नु एउटा बेड र झुलमात्रै हो। पानी पनि घरकाले नै मिनरल वाटर किनेर ल्याइदिएका छन्। घरबाटै ल्याएको बेड सेट, पानी तताउने इलेक्ट्रिक केटली छ। त्यसैमा पानी तताएर खाइराछु ।

मलाई कस्तो छ, के भइरहेको छ भनेर परीक्षण पुष्टि भएपछि कुनै डाक्टरले सोधेका छैनन्। म त अचम्ममा परेको छु। दाईले ल्याईदिएको थर्मोमिटरले आफैंले ज्वरो नापेको छु। हिजो बिहान ९६ डिग्री थियो। आज बिहान नाप्दा ९७ रैछ। घाटी दुख्ने, छाती दुख्ने केही पनि भएको छैन। सुतिराख्दा पनि पट्यार लाग्छ भनेर कोठामै यताउती हिँडेजस्तो गर्छु। समय कटाउन मोबाईलमा गेम खेल्छु। आफन्तीले सन्चो बिसन्चो सोधेर फोन गर्छन्। उनीहरुसँग कुरा गरेर समय कटाउँछु। बेला बेला मोबाइलमा डाटा किनेर फेसबुक पनि हेर्छु ।

बेला बेला दिक्क लाग्छ। संसारभर महामारी चलेको छ। मान्छेहरु मरेका छन् भनेको सुन्दा डर पनि लाग्छ। तैपनि घरपरिवारकाले चिन्ता नगर भनेर सम्झाउँछन्। आफैंले आफ्नो मन बुझाउन खोज्छु। मेरो कुरा तपाईहरुले लेखिदिनुहोला । स्रोत : इकान्तिपुर

तपाईको प्रतिक्रिया