दाना आपूर्ति सहज बनाउने तयारी

  चैत १५, २०७६

भरतपुर, चैत १५ : कोरोना भाइरस सङ्क्रमण रोक्न गरिएको लकडाउनको प्रत्यक्ष असर कुखुरापालन क्षेत्रमा देखिएको छ । किसानमा अहिले आफूले पालेका कुखुराबाट उत्पादित अण्डा र मासु बिक्री नहुने समस्या त छँदैछ भएका कुखुरालाई खुवाउने दानासमेत अभाव हुन थालेको छ ।

“कुुखुरा जस्तो संवेदनशील क्षेत्रमा साना कुराले त प्रभाव पार्छ । अहिले त विश्व नै आक्रान्त भएका बेला सरकारले गरेको लकडाउनले हामीलाई कुखुरा पाल्नै गाह्रो भएको छ”, पश्चिम चितवन पार्वतीपुरका किसान मदन पोख्रेलले भन्नुभयो, “अहिले दाना सकिएको छ । ल्याउन सकिने अवस्था छैन । ”

पोख्रेलको खोरमा रहेको पाँच हजार लेर्यस कुखुराले दैनिक तीन हजारभन्दा बढी अण्डा दिन्छन् । “अण्डा उत्पादन भएको छ, बसेको छ तर बजार लान सकिएको छैन”, उहाँको गुनासो छ, “काठमाडौँमा अहिले पनि अण्डाको माग छ तर लैजाने कसरी भन्ने चिन्ता छ । ”

एकातर्फ दानाको अभाव अर्कोतर्फ उत्पादित अण्डा र कुखुराको बजारसम्म पु¥याउन नसक्नु किसानको अहिलेको समस्या हो । नेपाल ह्याचरी सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेल अहिले सबैभन्दा बढी ‘लाइभ वर्ड’ (जिउँदो कुखुरा) मा समस्या भएको बताउनुहुन्छ ।

“नेपाल मात्रै हैन भारत पनि लकडाउन भएकोले दानाको कच्चापदार्थ मकै र भटमासको पिना कहाँबाट ल्याउने”, उहाँले भन्नुभयो । “यही अवस्था रह्यो भने अब हाम्रा कुखुरा खाल्डो अनेर गाड्नुपर्ने अवस्था हुनेछ”, उहाँले भन्नुभयो ।

नेपालमा अण्डा उत्पादनका लागि पालिएका ४० लाख लेयर्स कुखुराबाट दैनिक २५ लाख गोटा अण्डा उत्पादन हुने गरेको तथ्याङ्क छ । यस्तै मासुका लागि अहिले नेपालमा पाँच करोड २६ लाख ६६ हजार २९ बोइलर कुखुरा पालिएका छन् । नेपालमा उत्पादन हुने कुखुराको मासु र अण्डामध्ये ६० प्रतिशत उत्पादन धानेको चितवनमा लकडाउनले बढी असर गरेको देखिन्छ ।

“चितवनलाई मात्रै अहिले कुखुरालाई दैनिक एक हजार टन दाना चाहिन्छ यो बन्दमा, यसको कच्चापदार्थ कहाँबाट ल्याउन सकिन्छ”, अध्यक्ष पोख्रेलले भन्नुभयो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कुखुराको दानाको कच्चा पदार्थ आयातलाई कसरी सहज गर्न सकिन्छ भन्ने बारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया