चिकित्सा सामाग्री लिन १२:३० बजे निगमको जहाज चीन उड्ने, आजै राती आइपुग्ने

  चैत १५, २०७६

काठमाडौ, चैत १५ : चिनबाट कोरोना भाइरस परिक्षणका लागि आवश्यक किट्स, पिपिइ, औसधि र अन्य मेडिकल उपकरण ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज दिउँसो चीन प्रस्थान गर्दैछ ।

निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनका अनुसार उक्त जहाज शुनिबार साढे १२ बजे चिनको गोन्झाउका लागि प्रस्थान गर्ने छ । जहाजमा निगमका उडान दलका १० जना सदस्य मात्र रहने उहाले जानकारी दिनुभयो ।

निगमको जहाज स्थानीय समय अनुसार साझको ६ बजेर ५५ मिनेटमा पुग्नेछ । करिब २ घन्टा मेडिकल सामग्री लोड गरेपछि स्थानीय समय अनुसारत रातिको ८ बजेर ५५ मिनेटमा नेपालका लागि उडान गर्नेछ । मेडिकल सामाग्रीको भार ३० टन भन्दा केही कम हुनेछ ।

चीनमा रहेका निगमका लोड समुहले नै मेडिकल सामाग्री जहाजमा राख्नेछन । उक्त जहाज नेपाली समय अनुसार राती करिब साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जुहार्चनले जानकारी दिनुभयो ।

यसैबीच राससका अनुसा वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ । चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो । सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।¬ कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडान मात्र हुनेछ । अहिले आन्तरिकतर्फ पनि लुक्ला पोखरालगायत गन्तव्यबाट विदेशी नागरिकको उद्धार उडान भइरहेको छ ।

आन्तरिकमा नौ उडान

विगत तीन दिनयता दिनहुँजसो त्यस्ता उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चैत १२ र १३ गते बुद्धएयर र यती एयरको भगिनी संस्था तारा एयरबाट उद्धार गरिएका युरोपेली मुलुकका नागरिकलाई शुक्रबार कतार एयरको चार्टर्ड जहाजले सम्बन्धित गन्तव्यतर्फ लगेको थियो । आज पनि कतारको दोहाका लागि दुई उडान क्रमशः बिहान सबा १० र ११ बजे निर्धारण गरिएको विमानस्थलले जनाएको छ ।

यसैबीच लुक्लामा रोकिएका विदेशी नागरिकको उद्धारका लागि आज अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नौ वटा उद्धार उडान हुँदैछन् । प्राधिकरणका अनुसार निगमका पाँच, तारा एयरको तीन र समिट एयरको एक उडान हुनेछ । त्यसका लागि केही ट्वीनअटर जहाज लुक्ला उडिसकेका छन् । निगमको वाइ–१२ जहाजले पनि आज काठमाडौँ–नेपालगञ्ज उडान भर्नेछ । यो जहाजले कोभिडका शङ्कास्पद बिरामीबाट सङ्कलन गरिएको खकारको नमूना लिएर काठमाडौँ फर्कने बताइएको छ । 

तपाईको प्रतिक्रिया