सतर्कता अपनाउन आग्रह

  चैत १५, २०७६

काठमाडौँ, चैत १५ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले कोरोनाको सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले विदेशबाट आ–आफ्नो स्थानीय तहमा भित्रिने व्यक्तिलाई प्रवेशस्थलबाटै सुरक्षा निकायको सहयोगमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने, स्थानीय तहभित्रै क्वारेन्टाइनको व्यवस्था गरी सोही स्थानमा कोरोना भाइरसका लक्षण देखिएका व्यक्तिलाई राख्ने व्यवस्था मिलाउन मन्त्रालयले ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेको हो ।

मन्त्रालयका सङ्घीय मामिला महाशाखा प्रमुख एवम् सहसचिव वसन्त अधिकारीले कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्न स्थानीय तहको भूमिका प्रभावकारी हुने भएकाले उच्च सतर्कता अपनाउने स्थानीय तहलाई भनिएको हो । उहाँले आ–आफ्नो स्थानीय तहभित्र कोरोना भाइरसका लक्षण देखिएका व्यक्तिलाई व्यक्तिको निजी घरमा नै क्वारेन्टाइनमा बस्न सकिने पर्याप्त आधार भए घरमा नै राख्ने व्यवस्था मिलाउने अन्यथा स्थानीय तहभित्रै सार्वजनिक भवनमा क्वारेन्टाइन निर्माण गरी राख्न आग्रह गर्नुभयो ।

कोरोना भाइरसको सङ्क्रमण फैलन रोक्न वडाध्यक्ष, वडा सदस्य, महिला स्वास्थ्य स्वयंसेविका लगायत अन्य नागरिक समाजका अगुवालाई परिचालन गरी विदेशबाट आउने व्यक्तिको विवरण सङ्कलन गरी निगरानीमा राख्ने व्यवस्था मिलाउनुपर्ने भएको छ । त्यसको विवरण नियमित रूपमा मन्त्रालयमा पठाउन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशनसमेत गरेको छ ।

मन्त्रालयका अनुसार आ–आफ्नो स्थानीय तहभित्र सञ्चालनमा रहेका वृद्धाश्रम, बालगृह, धर्मशाला मन्दिर, मस्जिद, इँटाभट्टा, गार्मेन्ट कारखाना जस्ता सामूहिक आवासमा बसोबास गर्ने व्यक्तिको अवस्था अनुगमन गरी त्यसको विवरण राख्नुपर्नेछ । त्यस्तै सामूहिक आवासमा बस्नेको जीवनयापनमा सहज हुनेगरी आवश्यक समन्वय गर्नुपर्ने, वडा भित्रका इँटाभट्टा, गलैँचा र गार्मेन्ट कारखानामा दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिको पारिवारिक अवस्थाको सङ्ख्या, सदस्य र बसोबास स्थल र आश्रित व्यक्तिको समेत लगत सङ्कलन गरी त्यसको विवरण मन्त्रालयमा पठाउनु भनिएको छ ।

तपाईको प्रतिक्रिया