राहत कोषमा शिक्षकको एक दिनको तलब

  चैत १५, २०७६

काठमाडौँ, चैत १५ : नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत शिक्षकले एक दिनको पारिश्रमिक दिने भएका छन् । शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घले शुक्रबार यस्तो निर्णय गर्दै सरकारलाई केही दिनभित्रै न्यूनतम पनि करोड रुपियाँभन्दा बढी हस्तान्तरण गर्ने जनाएको छ ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले कोरोना रोकथाममा सरकारी प्रयास तथा अभियानमा देशभरका शिक्षकको ऐक्यबद्धता रहेको उल्लेख गर्दै शिक्षकले महासङ्घलाई सहयोग गर्ने र महासङ्घले एकमुष्ठ रूपमा सरकारलाई सहयोग रकम हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो ।

सार्वजनिक विद्यालयमा स्थायी राहत तथा निजीसमेत गर्दा झन्डै दुई लाख सदस्यले सहयोग गर्ने जनाइएको छ । यसबाट न्यूनतम पनि एक करोडभन्दा बढी सहयोग सङ्कलन हुने अपेक्षा महासङ्घले गरेको छ । महासङ्घले सङ्क्रमणका बेला सबैलाई जोगिन र सचेत हुनसमेत आह्वान गरेको छ ।

यसैबीच नेपाल विद्यालय कर्मचारी युनियनले देशभरका विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारी कोषमा सहयोग गर्न आह्वान गरेको छ । युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले नगर स्तरमा समन्वय गरेर सहयोग सङ्कलन गर्न र सरकारलाई हस्तान्तरण कर्मचारीलाई आग्रह गरिएको बताउनुभयो ।

उहाँले नगर तथा गाउँपालिका स्तरमा स्थानीय अवस्था हेरेर तीन दिन या पाँच दिन सम्मको तलब सुविधा सहयोग गर्ने योजना रहेको जनाउनुभयो । युनियन मातहतमा ३० हजारभन्दा बढी कर्मचारी विद्यालय तहमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया