इटालीमा संक्रमित ८० हजार, मृतक आठ हजार नाघ्यो

  चैत १४, २०७६

काठमाडौं, चैत्त १४ : विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणले इटालीमा आठ हजार १६५ जनाको मृत्यु भएको छ । इटालीमा कोभिड–१९ संक्रमितको संख्या ८० हजार ४३९ रहेको छ ।

नागरिक सुरक्षा विभागका निर्देशक अगोष्टिनो मिओजोले रात्रीकालीन पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । सिन्हवाका अनुसार इटालीमा बिहिबार चार हजार ४९२ जना नयाँ संक्रमित थपिएका छन् ।

बुधबारसम्म सक्रिय संक्रमितको संख्या ६२ हजार १३ रहेको थियो । जसमध्ये ३३ हजार ६४८ जना घरमै आइसोलेशनमा बसेका छन् । तीन हजार ६१२ संक्रमित अस्पतालमा सघन कक्षमा उपचारार्थ छन् । २४ हजार ७५३ संक्रमित अस्पतालको साधारण कक्षमा छन् ।

बिहिबार ९९९ संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म इटालीमा कोभिड–१९ का दश हजार ३६१ बिरामी निको भएर घर फर्केको निर्देशक मिओजोले खुलाउनुभयो । फेब्रुअरी २१ मा पहिलोपटक संक्रमण देखिएको इटालीमा बुधबार र बिहिबार ६६२ जनाको मृत्यु भयो ।

इटालीको सरकारी तथ्याङ्कमा बुधबारसम्म ५७ हजार ५२१ सक्रिय संक्रमित रहेको उल्लेख गरिएको छ । इटालीमा कोभिड–१९ को सामना गर्न सञ्चालनमा रहेको कोषमा नागरिक स्तरबाट पाँच करोड २० लाख यूरो संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया