कोरोना विरुद्ध परिचालित हुन नेकपा अध्यक्षद्वयको विशेष निर्देशन

  चैत १४, २०७६

काठमाडौं, चैत १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसद्वारा सिर्जित महामारी र यसको प्रकृतिलाई गम्भीरतापूर्वक लिई यथेष्ट सक्रियताका साथ परिचालित हुन समस्त पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी. शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा शुक्रबार जारी गर्नुभएको विशेष परिपत्रमा यस्तो निर्देशन दिनुभएको हो ।

परिपत्रमा भनिएको छ, “हामी आफू कोरोना भाइरसको सङ्क्रमणबाट जोगिएर र आफ्नो देशलाई जोगाएर मात्र यस महामारीलाई नियन्त्रण गर्नका लागि योगदान दिन सक्नेछौं । अभूतपूर्व एवम् असाधारण राष्ट्रिय एकताका साथ सम्भावित बढ्दो खतराको सामना गर्न सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदी–बहिनीहरुमा हार्दिक आग्रह गर्दछ ।”

नकारात्मक प्रवृत्ति कतैबाट पनि प्रकट हुनु ठीक होइन भन्दै राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै सहयोगी हात जुटाउनुपर्नेमा जोड दिइएको छ । सङ्कीर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने वा सीमित साधन स्रोतका साथ सरकारले गरेका प्रभावकारी कामहरुलाई समेत आलोचना गर्नेजस्ता कार्य हुनु राम्रो नभएको उल्लेख छ ।

सुरक्षित तबरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरुलाई स्वयम्सेवी भूमिकाका साथ सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ भन्दै परिपत्रमा अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय संगठनहरुका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रमहरु स्थगित गर्न निर्देशन दिइएको छ ।

लक डाउनलगायतका सम्पूर्ण निर्णय, आह्वान र अपीललाई आफूले पूर्णरुपमा पालना गर्ने र पालना गर्नका लागि आमजनसमुदायमा सन्देश प्रवाह गर्न निर्देशन अध्यक्षद्वयले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा सचेतना, पूर्व तयारी र सहयोग गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया