सरकार एक लाख ३० हजार क्वारेन्टाइन बेड निर्माणमा

  चैत १२, २०७६

काठमाडौँ, चैत १२ : सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माणलाई तीब्रता दिएको छ । सरकारले राजधानी काठमाडौँमा पाँच हजार क्वारेन्टाइनका लागि ठाउँको पहिचान र व्यवस्थापनको कार्य अगाडि बढाएको छ ।

क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नगरकोटका होटल व्यवसायीसँग बुधबार विहान भेटगरी क्वारेन्टाइनका लागि होटल उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

मन्त्री भट्टराईले व्यवसायीसँगको भेटघाटमा विश्व र मानव समाज नै गम्भिर संकटबाट गुज्रिरहेको वर्तमान अवस्थाबाट मुक्तिका लागि सबैको सहकार्य, सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि नागरिकको अनुशासन प्रमुख भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नागरिककको सचेतना र अनुशासन नै सरकारको नैतिक बल हो । आफू सचेत र सुरक्षित बनौं । आफ्नो परिवार, समाज, देश र विश्वलाई सुरक्षित राखौं ।

लकडाउनको नियम र अनुशासन मानौं ।” नगरकोटका होटलहरुमा करिव दुई हजार बेडको क्वारेन्टाइन बनाउन सकिने अवस्था छ । मन्त्री भट्टराईको सचिवालयका अनुसार, पहिलो चरणमा पाँच सय कोठालाई क्वारेन्टाइनका रुपमा तयार पार्न सकिने सम्भावनाबारे बुधबार छलफल भएको छ । सोको तयारीका लागि व्यवसायी, स्थानीय प्रशासन, चारवटै सुरक्षा निकायका प्रतिनिधिहरु सहभागिता रहेको समिति बनाइएको जनाएको छ ।

यसैगरी, मन्त्री भट्टराईले भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज र पशुपति क्षेत्रको समेत निरीक्षण गरी क्वारेन्टाइनको तयारी विषयमा सुरक्षा निकाय र जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ । दुवाकोटमा ४५० बेडको क्वारेन्टाइन र पाँच बेड आइसोलेसनका लागि तयारी अवस्थामा राखिएको छ । पशुपति धर्मशालामा ७० बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको जनाइएको छ ।

मन्त्री भट्टराईले प्रदेश, जिल्ला, स्थानीय निकायगरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका एक लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्री भट्टराईका अनुसार, संघीय सरकारले पाँच हजार क्वारेन्टाइनको व्यवस्था राजधानीमा गर्ने छ । त्यस्तै, प्रदेश सरकार, तराईका जिल्ला र महानगरपालिकाले दुई–दुई हजार, उपमहानगरपालिका र पहाडी जिल्लाले एक–एक हजार, हिमाली जिल्लाले पाँच सय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिइएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गरिसकेको छ । उच्चस्तरीय समितिको बैठकले मन्त्री भट्टराईको संयोजकत्वमा क्वारेन्टाइन व्यवस्थापनसम्बन्धी कार्यदल गठन गरेको छ ।

तपाईको प्रतिक्रिया