‘सरकारी घोषणा उल्लङ्घन गरे कारबाही’

  चैत १२, २०७६

हेटौँडा, चैत १२ : चीनमा सुरु भएर विश्वव्यापी बन्दै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले सर्वसाधारणलाई घरबाट निस्कन रोक लगाएसँगै बाग्मती प्रदेशका जिल्ला सदरमुकामलगायतका बजार मङ्गलबार सुनसान बने ।

प्रदेशको राजधानी हेटौँडालगायतका प्रदेशका विभिन्न जिल्लामा बिहानैबाट घरबाट बाहिर ननिस्कन माइकिङ गरी आग्रह गरिएको थियो । साथै प्रहरी परिचालन गरी अत्यावश्यक काममाबाहेक हिँड्डुल गर्नेलाई र सवारीसाधनको आवागमनमा कडाइसँगै रोक लगाइएको थियो ।

बिहानको समयमा सर्वसाधारण र सवारीसाधन सञ्चालकले अटेर र लापरबाही गरेका थिए । प्रहरीको आग्रह र कडाइपछि हिँड्डुल गर्नेको सङ्ख्यामा कमी आएको थियो । कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम गर्न सोमबार सरकारले मङ्गलबार बिहान ६ बजेदेखि चैत १८ गते

साँझ ६ बजेसम्म सर्वसाधारणलाई घरबाट निस्कन रोक अर्थात् ‘लकडाउन’ गर्ने घोषणा गरेको छ ।
अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारीसाधन आवत–जावतमा पूर्ण रोक लगाइएको प्रहरीले जनाएको छ ।

‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममाबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र निर्मूल गर्न लकडाउन गरिएको भन्दै उल्लङ्घन गरिएमा कारबाही गरिने सरकारले जनाएको छ ।

मकवानपुरमा हिँड्डुल र सवारी आवागमनमा कडाइ
विश्वव्यापी समस्या बन्दै आएको कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै गएपछि सङ्घीय सरकारले सर्वसाधारणलाई घरबाट निस्कन लगाइएको रोकपछि त्यसको प्रभाव प्रदेश राजधानी हेटौँडालगायत मकवानपुरको बस्ती र बजारहरूमा परेको छ । यातायातका साधन चलेका छैनन् भने बैङ्क तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान बन्द रहेका छन् ।

मङ्गलबार बिहान ६.०० बजेबाट रोक लगाइए पनि सर्वसाधारणहरू सडकमा हिँड्डुल गरेपछि हेटौँडा, थाहा नगर, मनहरी भीमफेदी, फापरबारीलगायतका बजारमा प्रहरीले सवारीसाधन सञ्चालन र हिँड्डुलमा कडाइ गरेको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह रोठोरले आपत्कालीन अवस्थामा आउजाउ गर्न दिइने व्यवस्था मिलाइएको बताउनुभयो । औषधोपचार, अत्यावश्यक सेवा सुचारु रहेको भन्दै उहाँले भन्नुभयो, घरमा पुग्न लामो दूरीका लागि हिँडेकालाई गन्तव्यमा पुग्छ छुट
दिएका छौँ ।

सर्वसाधारणलाई घरमा नै बस्न र ननिस्कन भन्दै बिहान ६.०० बजे अगावै हेटौँडा बजार क्षेत्रमा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय मकवानपुरले माइकिङ गरी आग्रह गर्नुका साथै प्रहरी परिचालन गरिएको थियो । अत्यावश्यक सेवा ंपानी, दूध, इन्धन, खाद्यान्न र फोहोर बोक्ने गाडी सञ्चालन गर्न दिइएको छ ।

प्रहरी उपरीक्षक राठोरले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न र स्वास्थ्यप्रति ख्याल राख्न सर्वसाधारणलाई आग्रह गरिएको बताउनुभयो ।

शान्त सिन्धुपाल्चोक
लकडाउन गरिएसँगै सिन्धुपाल्चोकमा कोही पनि घर बाहिर निस्केका छैनन् । बिहानदेखि नै जिल्लाभरको बजारमा कोही पनि हिँड्डुल गरेका छैनन् । अत्यावश्यक कामबाहेक कसैलाई पनि सुरक्षाकर्मीले हिँड्डुल गर्न दिएको छैन ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार सिन्धुपाल्चोकको मुख्य बजार बाह्रबिसे, चौतारा, मेलम्ची, खाडीचौर, जलवीरे, मुडेलगायतका बजार बन्द भएका छन् । यातायातका साधन पूर्ण रूपमा बन्द भएको छ । बजारमा सुरक्षाकर्मी तैनाथ गरिएको छ तर गाउँगाउँमा भने सर्वसाधारण खुलारूपमा हिँड्डुल गरिरहेका छन् ।

सिन्धुलीका स्थानीय तह सुनसान
कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै सिन्धुली जिल्लामा स्थानीय तहको कार्यालयहरू सुनसान जस्तै बनेका छन् ।

स्वास्थ्य शाखा र अत्यावश्यक सेवाबाहेक अन्य शाखा बन्द गरिएको स्थानीय तहले जनाएका छन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले भन्नुभयो, “लकडाउनका कारण सेवाग्राही नै आएका छैनन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सदरमुकामस्थित पुरानो जिल्ला प्रशासन कार्यालयको र भूसंरक्षण कार्यालय बसेको भवनमा ५० बेडको क्वारेन्टाइन सोमबार बेलुकासम्म तयार गर्दै छौँ । ”

त्यस्तै तीनपाटन गाउँपालिकाका प्रमुख कर्णबहादुर थापाले स्वास्थ्य शाखा र नगर प्रहरीलाई सक्रिय बनाई अन्य सेवा बन्द गरिएको भन्दै सेल्फ क्वारेन्टाइनलाई बढी जोड दिएकाले क्वारेन्टाइन कक्ष नबनाएको र लाम्पन्टार प्राथमिक स्वास्थ्य केन्द्रमा चारवटा आइसोलेसन कक्ष स्थापना गरिएको बताउनुभयो ।

उता लकडाउनका कारण सेवाग्राहीलाई अत्यावश्यक कामबाहेक घरबाटै बाहिर ननिस्कनु भनिएकाले नगरपालिकाको अन्य शाखा बन्द गरेको दूधौली नगरपालिकाका प्रवक्ता रितेश राउतले जानकारी दिनुभयो ।

मरिण गाउँपालिकाका प्रमुख पानीराज बम्जन चैत १८ गतेसम्म सरकारले नै स्वास्थ्य र नगर प्रहरीबाहेक बिदा दिएको भन्दै मरिण बहुमुखी क्याम्पसमा पाँच सय जना अट्ने क्वारेन्टाइन बनाइएको जानकारी दिनुभयो ।

फिक्कल गाउँपालिकाले सेवाग्राही नै घरबाट ननिस्किएकाले कार्यालय सुनसान बनेको जनाएको छ ।

चितवनमा कडाइ
कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयनमा कडाइ गरिएको छ । चितवनमा छिटफुट घटनाबाहेक लकडाउन पूर्ण कार्यान्वयनमा आएको छ । अधिकांश सर्वसाधारण आ–आफ्नै घरमा बसेका छन् ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा जिल्लाका अत्यावश्यक सेवा र अस्पतालबाहेक सम्पूर्ण कार्यालय बन्द रहेका बताउनुहुन्छ ।

“नागरिककै स्वास्थ्यको ख्यालमा राखेर नै सरकारले देश नै लकडाउन गरेको हो । आफ्नै स्वास्थ्यको ख्याल गरेर घरमै बस्नुपर्ने आवश्यक छ”, उहाँले भन्नुभयो “कोही कसैले अटेर गरेको पाइएमा सुरक्षाकर्मीले सम्झाउने बुझाउने काम गरिरहेका छन् । ” लकडाउनका कारण लामो तथा छोटा दूरीका सवारीसाधन पूर्ण रूपमा बन्द छन् । केही मोटरसाइकल तथा साइकल यात्रुलाई सुरक्षाकर्मीले चेकजाँच गर्दै छाडिरहेको भेटिन्थ्यो ।

जिल्लाका नाकाहरू मकवानपुरसँगको सिमाना लोथर, नवलपुरतर्फको सिमाना नारायणगढको पुल्चोक र धादिङतर्फ मुग्लिनमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

अत्यावश्यक सवारीसाधन र पत्रकारहरूका लागि स्थानीय प्रशासनले पासको व्यवस्था मिलाएको छ । मङ्गलबार बिहान केहीले अवज्ञाको प्रयास गरे पनि प्रशासन कठोर बनेपछि दिउँसोबाट जिल्ला पूर्ण रूपमा बन्द भएको हो ।

धादिङका सबै चोक बजार बन्द
सङ्घीय सरकारको निर्णयअनुसार नै जिल्लाका मुख्य बजारहरू लकडाउन भएको छ । जिल्ला सदरमुकाम धादिङबँेसी बिहान ६ बजेदेखि पूरै बन्द छ । लकडाउनको पहिलो बिहान जिल्ला सदरमुकामलगायतका अन्य बजार शून्य र शान्त देखिएका छन् ।

मानिसको आवत–जावत रोकेर नै भाइरसको सङ्क्रमणलाई रोक्न सकिने विश्व स्वास्थ्य सङ्गठनलगायतको सुझावपछि मानिस र सवारीसाधनको आवत–जावतमा रोक लगाइएको हो । सधँै सवारी चाप हुने सडकमा अत्यावश्यक सेवाका गाडी मात्र देखिन्छन् । बिहानैदेखि बजारका विभिन्न भागमा प्रहरीहरू परिचालित छन् । पृथ्वीराजमार्गमा एम्बुलेन्स, सुरक्षाकर्मी बोकेको गाडीबाहेक अन्य सवारीसाधन चलेका छैनन् ।

काभ्रेमा लकडाउनको प्रभाव
सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि काभ्रेपलाञ्चोक जिल्लाका बजार सुनसान बनेका छन् । मङ्गलबार बिहान केही फाटफुट सवारीसाधन चले पनि प्रशासनले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने जनाएपछि सञ्चालनमा कमी आएको थियो ।

जिल्लाको मुख्य बजार बनेपा, धुलिखेल, पनौती, पाँचखाल, भुकुण्डेबेसी सुनसान बने । अति आवश्यक मानिसबाहेक अन्य घर बाहिर ननिस्कन जिल्ला प्रशासन, प्रहरी र स्थानीय तहले सूचना जारी गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले स्वास्थ्यकर्मी, दूध, पानी, खाद्यान्न र सञ्चारकर्मीको सवारीसाधनबाहेक सञ्चालन हुन नदिएको जानकारी दिनुभयो । उहाँले नियमको उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही गरिने बताउनुभयो । हामीले अति आवश्यक मानिसलाई पास लिएर यातायात सञ्चालन गर्न दिने भनेका छौँ तर आफूखुसी केही हुँदैन भनेर हिँडेको भेटियो भने कारबाही गर्छौं ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले अरनिको राजमार्गमा अति आवश्यक सवारीसाधनबाहेक सञ्चालनमा रोक लगाएको बताउनुभयो ।

सुनसान चरीकोट
संसारभर महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमण नेपालमा पनि देखिएपछि सरकारले मङ्गलबारदेखि एक साताका लागि देशभर गरेको लकडाउनको पहिलो दिन दोलखा सदरमुकाम चरिकोट बजार शून्य र शान्त देखिएको छ ।

सधैँ सवारी मानिसको चाप हुने सडकमा अत्यावश्यक सेवाका गाडी मात्र देखिन्छन् । बिहानैदेखि बजारका विभिन्न भागमा जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित छन् । खाद्यान्न, फलफूल तथा तरकारी, दूध डेरी, औषधि पसल र पेट्रोल पम्पलगायतका अत्यावश्यक सेवाका पसलहरू खुलेका छन् भने अन्य सबै बन्द गरिएको छ ।

त्यसैगरी खाद्यान्न, फलफूल तथा तरकारी, दूध, पेट्रोलियम पदार्थ, औषधिलगायतका अत्यावश्यक सामग्री बोकेका सवारीसाधनबाहेक अन्य सबैलाई सञ्चालनमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलका अनुसार दोलखा प्रवेश गर्ने रामेछापसँगको सिमाना किर्नेटार र सिन्धुपाल्चोकसँगको खरीढुङ्गा नाकामा प्रहरी र स्वास्थ्यकर्मीसहितको टिमले कडाइका साथ चेकजाँचको व्यवस्था मिलाई अभिलेख तयार गरी अत्यावश्यक मानिसलाई मात्र प्रवेश गर्न दिइएको छ ।

सर्वसाधारण नागरिकलाई अत्यावश्यक उपचारबाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन अनुरोध गरेको उल्लेख गर्दै उहाँले अत्यावश्यक कामबाहेक सडकमा घुमफिर गर्ने, चोक बजारमा भीडभाड गरेमा प्रहरीले अनुगमन र चेकजाँच गरी नियन्त्रणमा लिने बताउनुभयो ।

जिल्लामा रहेको केवलकार, सिनेमा हल, हाटबजार पूर्ण रूपमा बन्द गर्ने र मठमन्दिरमा नियमित पूजाबाहेक अन्य पूजा बन्द गर्ने, सबै सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत सबै कर्मचारीले आ–आफ्नो कार्यालयमा उपस्थित भई आवश्यक सेवा प्रवाह गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा गलत र भ्रामक अफवाह फैलाउने सूचना प्रकाशन नगर्न भनिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौड्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया