सहरलाई नै सेनिटाइज गर्ने अभियान

  चैत ११, २०७६

नेपालगञ्ज, चैत ११ : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन यहाँस्थित नेपाल–भारत जमुनाह नाकाबाट किटनाशक औषधि छर्केर नेपालगञ्ज सहरलाई सेनिटाइज गर्ने कार्य मंगलबार शुरु गरिएको छ ।

बाँके क्षेत्र नम्बर २ का सांसद तथा पुर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आफ्नै लगानीमा ट्यांकर मगाएर ट्ंयाकरमा औषधी भरेर नाकामा आफँै औषधी छर्केर सो कार्यको शुभारम्भ गर्नुभयो ।

कोरोना संक्रमणको जोखिमबाट नेपालगञ्जबासीलाई सुरक्षित राख्नका लागि सिमानाबाट शुरु गरेर सहरभरि औषधि छर्कनु अतिआवश्यक देखेर आफैँले सो काम शुरु गरेको उहाँले बताउनुभयो ।
भारतबाट मानिसहरु आउने क्रम अझैं पनि जारी रहेकाले सो संक्रमण भित्रिने अत्याधिक जोखिम देखिएपछि सहरलाई नै सेनिटाइज गर्ने कार्य गर्नु परेको पूर्वमन्त्री राईको भनाइ छ ।

राष्ट्रिय संकटको घडिमा हरेक जनप्रतिनिधिले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउँदै उहाँले आफ्नो व्यक्तिगत लगानीमा आफूले नगरभरि ८ ट्यांकर औषधि छर्किने जानकारी दिनुभयो ।
नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान अन्तर्गत यसअघि उहाँले सोमवार नेपालगञ्जका विभिन्न अस्पताल, विमानस्थल, वसपार्क र सुरक्षा निकायका कार्यालयमा हाते मेसिनबाट औषधि छर्कन लगाउनुभएको थियो ।

६ वटा हाते मेसिन झिकाएर ती मेसिनमा किटनाशक औषधि भरेर छर्किएको र मंगलबार पनि विभिन्न स्थानमा छर्कने कार्य भैरहेको उहाँले बताउनुभयो । नेपालगञ्जमा अहिले लक डाउन र जनता कफ्र्यू लगाईएका कारण मुख्य सडक र चोक सुनसान रहेकाले औषधी छर्किन सहज भएको छ ।

नेपाल–भारत सिमानाको जमुनाह नाकादेखि राँझासम्म र पुष्पलाल चोकदेखि न्यूरोड हुँदै सदरलाईन तथा फुलटेक्रा रोडलगायत सहरका सबैजसो सडकमा औषधि छर्किने बताईएको छ ।
पूर्वमन्त्रीले शुरु गरेको सो कार्यको स्थानीयले स्वागत गरेका छन् ।सीमा नाकादेखि नगरलाई सेनिटाइज गर्नु अहिलेको प्रमुख काम भएको जनाउँदै यस्ता कार्यहरु स्थानीय तहले पनि गर्नुपर्नेमा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया