ग्यास वितरण प्रणाली सहज

  चैत ११, २०७६

काठमाडौँ, चैत ११ : कोरोना त्रासले खल्बलिएको एल.पी. ग्यास वितरण प्रणाली सहज हुन थालेको छ । बजारमा ग्यास अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राख्न थालेपछि दुई हप्तादेखि बजारमा ग्यास सहज थिएन । मागभन्दा बढी आपूर्ति हुँदा पनि बजारमा अभाव देखिएको थियो तर नेपाल ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमले उपत्यकाका विभिन्न स्थानमा रिटेल आउटलेट अर्थात् रिटेल काउन्टर सञ्चालन गरेपछि सहज बन्दै गएको हो ।

आइतबारदेखि रिटेल आउटलेटबाट ग्यास वितरण गरेपछि उपभोक्ताले सहज ग्यास पाएका हुन् । सोमबार अनामनगरमा वितरण गरिएको नेपाल ग्यास सहज वितरण भएको छ । नेपाल ग्यासको सिलिन्डर लिएर आउने सबैले ग्यास पाएका छन् । करिब दुई घण्टा मात्रै लाइन बस्नु परेको लाइनमा सहभागी वसन्ता कार्कीले बताउनभयो । उहाँको भनाइ छ ‘यहाँ ५०÷६० जना जतिको लाइन थियो, सबैले पाएका छन् । दुई घण्टा जति लाइन बसेको पाइयो, ग्यास पाइँदैन भनेका थिएँ तर पाइँदो रैछ त, अरूले धेरै धेरै लैजाँदा हामीले नपाएका रैछौँ । ’

उपत्यकामा २२ स्थानबाट विभिन्न ग्यास वितरण भएको छ । रिटेल आउटलेटबाट करिब ३५० सिलिन्डर दैनिक वितरण गरिएको छ । व्यवस्थित लाइन र ग्यास लिने उपभोक्ताको परिचय खुल्ने विवरण राखिएको छ । वितरणका बेला सबै उपभोक्तासँग परिचय खुल्ने कागजात मागिएको थियो । परिचयपत्रबिना ग्यास वितरण गरिएको छैन । कसले ग्यास लग्यो, कति लग्यो र कति बिक्री भयो भन्ने तथ्याङ्कका लागि मात्र नभई समानुपातिक वितरणका लागि तथ्याङ्क राखिएको, नेपाल ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो ।

उद्योग सङ्घले ग्यास बिक्री वितरणको दैनिक विवरण मागेपछि बिक्रेताले परिचय खुल्ने वितरणसहित ग्यास बिक्री गरेका हुन् । उपभोक्ताले आवश्यक भन्दा बढी ग्यास मौज्दात राखेपछि बजारमा असहज भएको नेपाल आयल निगमले जनाएको छ । भारतबाट सहज आपूर्ति हुँदाहुँदै र मागअनुसार बजारमा ग्यास पठाउँदा पनि अभाव भएको देखिएपछि विवरण सङ्कलन गर्न थालिएको हो । पहुँच हुने र बजारका टाठाबाठाले आवश्यकभन्दा बढी ग्यास मौज्दात राखेको र बजार असहज बनाएको सङ्घको दाबी छ ।

सङ्घ र निगमले रिटेल बिक्री केन्द्रको अनुगमन गरेका छन् । रिटेलबाट बिक्री हुन थालेपछि ग्यास छैन भन्दै आएका ग्यास पसलले पनि बिक्री सुरु गरेका छन् । सोमबार लाइन छोटो भएको अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो । आइतबार २५ सय सिलिन्डर वितरण गरिएको थियो । सोमबार वितरणमा दबाब नदेखिएको र केही स्थानमा खाली नै रहेको भन्दै वितरणमा सहज भइसकेको र सबैले ग्यास पाएको भण्डारीको दाबी छ । नेपाल आयल निगमले नियमित मागभन्दा बढी ग्यास आयात भएको जनाएको छ । मार्च महिनामा मात्रै ५० हजार मेट्रिकटन ग्यास आपूर्ति भएको छ । 

तपाईको प्रतिक्रिया