सरकारले भन्यो : घरमै बसेर सहयोग गरेकोमा धन्यवाद

  चैत ११, २०७६

काठमाडौँ, चैत ११ : सरकारले कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण नियन्त्रणका लागि शुरु गरेको स्व–कफ्र्यू (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन सोमवार मुलुकभरको जनजीवन शान्त र ठप्प बन्यो ।

गृह मन्त्रालयका अनुसार, काठमाडौंँ उपत्यका लगायत मुलुकका मुख्य शहरहरू र राजमार्गहरू बन्द भएका छन् । सरकारको निर्णयलाई सर्वसाधारण नागरिकले समर्थन र सहर्ष स्वीकार गरेको दावी मन्त्रालयले गरेको छ ।

नेपाल–भारत सीमा नाकामा भारतबाट आउनेहरूको चाप अझै नघटेकाले समस्या देखिएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले सीमा नाकामा रोकिएकाहरुको उचित व्यवस्थापन र सहजीकरणका लागि प्रदेश सरकारसंग छलफल गरी आवश्यक निर्णयमा पुग्न निर्देशन भएको बताउनुभयो ।

‘लकडाउन’ का कारण राजधानी काठमाडौँ लगायत मुख्यशहरहरु मात्र नभइ पहाडीक्षेत्रका सहायक सडकहरुमा समेत सवारी साधन गुडेन्न । तराई तथा पहाडका ग्रामीण वस्तीहरूमा समेत सर्वसाधारणलाई एक गाँउबाट अर्को गाँउमा नजान स्थानीय सरकारले आग्रह गरेका छन् ।

महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उपत्यकामा विहान हल्का सवारी साधन मोटरसाइकलहरू फाट्टफुट्ट निष्केपनि प्रहरीको चेतावनीपछि ठप्प भएको जानकारी दिनुभयो ।

अत्यावश्यकका सवारी साधनहरु वाहेक स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारीहरू केहीमात्रामा सञ्चालनमा आएको उहाँले बताउनुभयो । उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरको मुख्य सडक तथा शहरीक्षेत्रमात्र नभइ भित्री बस्तीका पसलहरु पनि बन्द रहेका छन् ।

तपाईको प्रतिक्रिया