नेपाल भित्रिने नेपाली, पानीट्याङ्की नाकामा अलपत्र

  चैत १०, २०७६

बिर्तामोड, चैत १० : कोरोना संक्रमणका कारण नेपाल सरकारले नेपाल भारत सीमा नाका बन्द गरेपछि सीमावर्ती नाकाबाट नेपाल भित्रिने दुई सय भन्दा बढी नेपाली, पानीट्याङ्की नाकामा अलपत्र परेका छन् । 

भारतका विभिन्न ठाउँबाट नेपाल फर्किएका नेपाली सरकारले सीमा नाका सिल गरेपछि काँकडभिट्टा नाका प्रवेशको पर्खाइमा अलपत्र परेका हुन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार विहान १० बजेदेखि नेपाल भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।

नाका बन्द भएलगत्तै आइपुगेका नेपाली मेची पुलमा रोकिएका छन् । अपराह्नसम्म दुईसय भन्दा बढी नेपाली काँकडभिट्टा नाकामा रोकिएको प्रहरीले जनाएको छ । रोकिएका नेपालीका आफन्तले उनीहरुलाई नेपाल प्रवेशका लागि सहजीकरण गरि दिन स्थानीय प्रशासनसँग अपिल गरेका छन् ।

बिर्तामोड–३ का देवीप्रसाद सिवाकोटीले भाई भाष्कर उप्रेती अलपत्र परेको बताउँदै नेपाल प्रवेशका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयो । बैङगलोरबाट बागडुग्रा हुँदै काँकडभिट्टा आइपुगेका उप्रेती पेशाले विद्यार्थी हुनुहुन्छ ।

‘फ्लाइट डिले भएपछि भाई आउन ढिलो भयो’, उहाँले भन्नुभयो । ‘उप्रेतीजस्ता थुप्रै विद्यार्थी र काम गरेर फर्किएकाहरु मेची पुलमा अलपत्र छन् ।’ प्रहरीले माथिको आदेश नभएको जनाउँदै उनीहरुलाई नाकामा रोकेर राखेको छ ।

नेपालबाट भारत प्रवेशको तयारीमा रहेका भारतीय नागरिक पनि काँकडभिट्टामा रोकिएका छन् । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले सीमा नाकामा अलपत्र परेका नेपालीका विषयमा सरकारलाई जानकारी गराइएको बताउनुभयो ।

‘माथिको आदेश के आउँछ भन्ने पर्खाइमा छौँ’, उहाँले भन्नुभयो, ‘आदेश अनुसार उनीहरुको टुङ्गो लाग्छ ।’ सीमा नाकामा रोकिएका नागरिकका विषयमा मुख्यमन्त्री शेरधन राईले जानकारी लिनुभएको छ । सीमा नाकाको अवस्था बुझ्न उहाँ सोमबार अपरान्ह काँकडभिट्टा नाका आउनुभएको हो । मेचीनगरमा ७० जनाको मात्रै क्वारेन्टाइन क्षमता रहेको छ ।

मुख्यमन्त्री राईले संक्रमणबाट बच्न प्रदेश सरकारले ५० लाखको कोष खडा गरेको जानकारी दिनुभयो । स्थानीय सरकारलाई आवश्यक सहयोग गर्ने राईले बताउनुभयो ।

नाका अनुगमनपछि मुख्यमन्त्री राईले सरकारले आवश्यक प्रक्रिया पु¥याएर अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिइने भए पनि भारतबाट नेपाल भित्रिने सर्वसाधरणले निश्चित समय नेपालको क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो ।

यता, छिमेकी मुलुक भारत तर्फका झापा गाउँपालिकामा पर्ने पाँचवटा सीमा नाकाहरु सिल गरिएको छ । पन्थापाडा, सुकुम्बासी टोल (खयरबारी), सालमारा, लसुनालगायतका सीमा नाकाहरु बन्द गरिएको प्रहरीले जनाएको छ । नेपाल सशस्त्र प्रहरी बल र जनपथ प्रहरीको संयुक्त टोली सीमामा खटिएको प्रहरीले जनाएको छ ।

सीमामा अहिले कुनै पनि मानिस आवतजावत गर्न नदिएको सशस्त्र प्रहरी बल कुमरखोदका प्रमुख सचिन प्रधानले बताउनुभयो ।

पछिल्लो समय कोरोना भाइरस (कोभीड–१९) को संक्रमणलाई फैलिन नदिन मन्त्रिपरिषद्को निर्यणानुसार भारत र चीनमा पर्ने सम्पूर्ण नाकाहरु सिल गर्ने निर्णय भएको थियो । त्यही निर्णयानुसार झापा गाउँपालिकामा पर्ने सीमा नाका सिल गरिएको हो ।

तपाईको प्रतिक्रिया