अलपत्र परेका पाँचसय बढी नेपालीको उद्धार गरेर नेपालगञ्ज ल्याइयो

  चैत १०, २०७६

नेपालगञ्ज, चैत १० : सोमबार बिहान २ बजेदेखि नेपाल–भारत जमुनाह नाकामा अलपत्र परेका पाँच सयभन्दा बढि नेपालीको उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ ।

एकसाताका लागि सिमा नाका बन्द भएपछि भारतका विभिन्न स्थानबाट आएर सोमबार बिहान नेपालगञ्ज नाकामा पुगेका पाँच सय बढि नेपाली नागरिकहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाले उद्धार गरेर स्वदेश भित्र्याएको हो ।

भारतमा ज्याला मजदुरी गरेर नेपाल फर्किएका उनीहरुलाई सीमानाबाट उद्धार गरेर नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस पुयाईएको छ । केही समय क्याम्पस परिसरमा आराम गरेपछि हरेकलाई उनीहरुको गृह जिल्लासम्म पु-याउने ब्यवस्था मिलाईने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

नाकामा बिहानैदेखि खटिनु भएकी नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगरले अलपत्र परेका नेपालीको उद्धार गर्नुको बिकल्प नरहेकोले उद्धार गरेर स्वास्थ्य परिक्षण गराईएको बताउनु भयो । उहाँले महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण भैरहेकोले उनीहरुलाई केही समय सोही स्थानमा राखेर सम्बन्धित जिल्लाहरुमा पठाइने बताउनु भयो ।

गाडीको व्यवस्था मिलाएर सबैलाई जिल्लागत रुपमा सुरक्षित घर पु-याउने निर्णय भएसँगै उनीहरुको स्वास्थ्य परिक्षण गरी उपमहानगरको नगर बसद्धारा महेन्द्र क्याम्पस परिसरमा ल्याइएको हो । महेन्द्र क्याम्पस लग्नुअघि जमुनाह नाकामै सबैको स्वास्थ्य परिक्षण गरीएको थियो ।

भारतको विभिन्न क्षेत्रमा काम गरेर फर्किएका उनिहरुलाई भारतीय प्रहरीले नेपालगञ्ज नाकामा ल्याए छाडिदिएको थियो ।

नाकामा पुगेका नेपालीहरुले आफुहरु तीनदिन अघिनै आ–आफ्नो ठाउँबाट हिडेको जनाउँदै भारतमा आइतबार लगाईएको जनता कफ्र्यूका कारण बाटोमा केही खान नपाएकोले दुईदिनदेखि भोकै रहेको बताएका छन् । दसगजामा सोमबार विहान २ बजेदेखि रोकिएका नेपालीहरुलाई त्यहाँ रहेका नेपाली सुरक्षाकर्मीहरुले खानेपानी र केही चाउचाउको व्यवस्था गरिदिएको सुर्खेतका रामबहादुर विकले बताउनुभयो ।

उहाँले आफुहरुले आफ्नो देशमा प्रवेश पाएपछि खुशी लागेको जनाउँदै अब घरसम्म पुग्ने व्यवस्था मिलाइदिए अरु केही पनि नचाहिने बताउनु भयो । ‘यदि हामी बिरामी छौ भने हामीलाई अस्पतालमा राखियोस अन्यथा घर जान दिइयोस् ।’–विकले भन्नु भयो । भारतको बहराइच जिल्ला र बाँके जिल्लाका सुरक्षा अधिकारीहरुको आइतवार बिहान गरेको सहमति अनुसार आइतवार बिहान साढे दस बजेदेखी नै जमुनाह नाका एकसाताका लागि पूर्ण रुपमा बन्द गरिएको थियो । यसैगरि भारत जाने ५० बढी नेपालीहरुलाई पनि भारतीय सुरक्षाकर्मीको रोहबरमा भारततर्फ पठाईएको छ । उनीहरुलाई लैजानका लागि भारतीय प्रहरीले व्यवस्था मिलाएको थियो ।

यसैबिच बैतडी समाचारदाता गोकर्ण दयालका अनुसार भारतको सीमामा अपलपत्र परेका ३३ जना नेपालीको पञ्चेश्वर गाउँपालिकाले उद्धार गरेको छ । आईतबार बेलुकी उद्धार गरिएकाहरुको स्वास्थ्य परीक्षण गर्दा तीन जनामा ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमा पञ्चेश्वर –४ चौडाली स्थित कैलपाल आधारभूत विद्यालयको क्वारेन्टाईनमा राखिएको छ ।

कोरोना चेकजाँच गर्न स्वास्थ्य कार्यालय बैतडीले पञ्चेश्वर गाउँपालिकालाई ज्वरो नाप्न थर्मल मिटर र स्वास्थ्यकर्मीको पूरै जिउ ढाकिने अत्याधुनिक ड्रेस उपलब्ध गराएको छ ।

कोरोना सङ्क्रमण भित्रिन नदिन पञ्चेश्वर गाउँपालिका र शिवनाथ गााउँपालिककाले नेपाल–भारत आवतजावत हुने महाकाली नदीमा डुङ्गा चल्ने सात वटा घाट निश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो । घाट बन्द भएको जानकारी नपाएर शुक्रबार भारतका विभिन्न सहरबाट आएका ३३ जना पञ्चेश्वर गाउँपालिकाको रोल घाटमा अपत्र परेको र भारतीय सुरक्षाकर्मीले भारततिर समेत जान नदिएपछि ३३ जनाको उद्धार गर्न दुई घण्टाका लागि घाट खोलेर उद्धार गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

भोक, प्यास र महाकाली नदी किनारमा अपलपत्र परेका ३१ पुरुष र दुई महिला गरि ३३ जनाको उद्धार गरेर नेपालतर्फ ल्याएर खाना खुवाईएको पञ्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ । ३३ जना मध्ये पञ्चेश्वर गाउँपालिका–४ चौडालीका तीन जना (समाचारमा नाम उल्लेख गर्न नसकिने भएकोले) औजी थरका पुरुषमा ज्वरो आएकोले उनीहरुलाई गाउँ नजिकैको विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको पञ्चेश्वर गाउँपालिकाका उपा ध्यक्ष वीना भट्टले जानकारी दिनुभयो ।

उद्धार गरिएका ३३ जना मध्ये शिवनाथ गाउँपालिका शमालीमा ६ जना र बाँकी पञ्चेश्वर गाउँपालिका १ र ४ नम्बर वडाका स्थानीय रहेको पञ्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ ।

उद्धार गरेर क्वारेन्टाईनमा राखिएका तीन जनालाई सिटामोल दिएपछि ज्वरो सामान्य भएको पञ्चेश्वर स्वास्थ्य चौकीका ईन्चार्ज सुरेश सार्कीले बताउनुभयो । स्वास्थ्यचौकी ईन्चार्ज सार्कीले भन्नुभयो, “तीन जनामा हिजो ज्वरो थियो । सिटामोल दिएपछि उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ तर, उहाँहरुलाई भोली मंगलबारसम्म क्वारेन्टाईनकमै राखिने छ । ज्वरो बाहेक उहाँहरुमा अन्य कुनै सङ्केत देखिएको छैन । ”

तपाईको प्रतिक्रिया