बीरगञ्जमा कोरोनो संक्रमित भेटिएको पुष्टि भएको छैन

  चैत १०, २०७६

वीरगञ्ज , चैत ९ : पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको भन्ने खबर आएपनि त्यसको पुष्टि भएको छैन । भारतको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पतालले वीरगञ्जका ६३ वर्षीय शिवकुमार रुंगटालाई कोरोना संक्रमण भएकोे खबर आए पनि त्यसको पुष्टि हुन अझ २/३ दिन लाग्ने जनाईएको छ ।

मृगौलाका बिरामी रुंगटा आफ्नो मृगौला सम्बन्धि समस्याले अस्पतालमा उपचारको लागि गएको र कोरोनाको आशंका गरी अस्पतालले कोरोना छ छैन भनी पुष्टि गर्न आवश्यक जाँचको लागि नमूना संकलन गरी नेशनल इस्टिच्युट अफ मेडिकल साइन्स, पुनेमा रहेको प्रयोगशालामा पठाएको पारिवारीक स्रोतले जानकारी दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।

पारिवारिक स्रोतका अनुसार नेशनल इस्टिच्युट अफ मेडिकल साइन्स, पुनेमा आवश्यक जाँच भएर विस्तृत रिपोर्ट आउन अझ दुई–तीन दिन लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले गोरखापत्रलाई बताउनु भयो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले ती व्यापारीका वीरगञ्जमा रहेका १३ सदस्यीय परिवारलाई होम आईसुलेशनमा बस्न भनिएको र उनीहरुलाई घर मै बस्न दिने कि अस्पतालमा लगेर राख्ने भन्ने विषयमा सम्बधित निकायहरुसंग छलफल गरेर निर्णय लिईने बताउनुभयो ।

हाल रुंगटाको वीरगञ्ज स्थित घरमा ५ जना बालबालिका , ५ जना महिला र ३ जना पुरुष रहेकाले उनीहरुले दिएको जानकारी मात्र आफूले पाएको बताउदै सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले रुंगटाको स्वाब जाँचको लागि पुने पठाईएको र पुनेमा जाँच भएपछि मात्र कोरोना भए नभएको पुष्टि हुने परिवारजनले बताएको जनाउनुभयो ।

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले सामाजिक सञ्जाल फेसबुकमा व्यापारी रुंगटालाई कोरोना संक्रमण स्टाटसमा लेख्नु भएको छ । बीरगञ्ज घर भएका रुंगटा खद्यान्न व्यवसायी भएको साँसद यादवले फेसबुक स्ट्याटसमा उल्लेख गर्नु भएको छ ।

श्रीलंकाबाट नेपाल फर्किएका व्यापारी रुंगटाले केही दिन अघि चिकित्सकलाई घरमा नै बोलाएर जाँच गराउँदा चिकित्सकले उनलाई गण्डक अस्पतालमा उपचारको लागि पठाएको र वीरगञ्जको गण्डक अस्पतालले ६ दिन अघि उनलाई पटना रिफर गरेको बताईएको छ ।

तपाईको प्रतिक्रिया