पाँच सय बढी नेपाली नागरिक सीमानामा अलपत्र

  चैत १०, २०७६

नेपालगञ्ज, चैत १० : भारतबाट कोरोना भाइरस भित्रिन नदिन यहाँ स्थित नेपाल–भारत सीमानालाई एक साताका लागि पूर्ण रुपमा बन्द गरिएपछि ५ सय बढी नेपाली सीमा पारी अलपत्र परेका छन् ।

भारतको गुजरात, पन्जाव र राजस्थान लगायतका प्रदेशका विभिन्न ठाउँबाट तीन दिन अगाडी हिडेका ती नेपालीहरु सोमबार विहान ३ बजेदेखि सीमा पारी रुपैडिहा पुगेपनि सीमाना बन्द भएका कारण नाकामै अलपत्र परेका हुन् । 

रुपैडिहा पुगेका ती नेपालीहरु मध्ये सय जनाजति दसगजामा पुगेर अलपत्र परेका छन् भने चार सय बढी रुपैडिहामा अलपत्र परेका छन् ।

नाकामा रोकिएका नेपालीहरुले आफुहरु तीनदिन अघिनै आ–आफ्नो ठाउँबाट हिडेको जनाउँदै भारतमा आइतवार लगाईएको जनता कफ्र्यूका कारण बाटोमा केही खान नपाएकोले दुईदिनदेखि भोकै रहेको गुनासो गरेका छन् ।

दसगजामा सोमबार विहान ३ बजेदेखि रोकिएका नेपालीहरुलाई त्यहाँ रहेका नेपाली सुरक्षाकर्मीहरुले खानेपानी र केही चाउचाउको व्यवस्था गरिदिएको सुर्खेतका राम बहादुर विकले बताउनुभयो ।

उहाँले आफुहरुले आफ्नो देशमा जान पाउनु पर्ने जनाउँदै अरु केही पनि नचाहिएको बताउनुभयो । ‘बरु स्वास्थ्य परिक्षण गरियोस, यदि हामी बिरामी छौ भने हामीलाई अस्पतालमा राखियोस अन्यथा घर जान दिइयोस् ।’ – विकले भन्नु भयो ।

तपाईको प्रतिक्रिया