कोरोनाविरुद्ध लड्न चिनियाँ मोडलको तयारी भइरहेको छ : आपूर्तिमन्त्री

  चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : कोरोना भाइरस (कोभिड- १९) विरुद्ध सरकारले चिनियाँ मोडलमा तयारी थालेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । कोरोना संक्रमण नेपाल प्रवेश गरेमा कसरी रोक्ने भन्नेबारे चीन सरकारसँग सहकार्य भइरहेको पनि उनले जानकारी दिएका छन् ।

संघीय संसद्‍का दुवै सदनको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आइतबार बसेको बैठकमा मन्त्री भट्टले भने, ‘कोरोनाविरुद्ध नयाँ मोडलमा जाने तयारी भएको छ। चिनियाँहरूको मोडलमा जाने भन्ने तयारी गरिरहेका छौं ।’

सुरक्षाकर्मीका अस्पताललाई ठूलो मात्रामा उपचार गर्ने क्षमताका रूपमा अभिवृद्धि गर्न लागिएको मन्त्री भट्टले जानकारी दिए। उनले भने, ‘मुख्यरूपमा सशस्त्र प्रहरीको अस्पताललाई जिम्मेवारी दिएर अगाडि बढिएको छ। सेनाले आन्तरिक तयारी पूरा गरेको छ र प्रदेशहरूमा पनि सुरक्षाकर्मीका अस्पताललाई र सुरक्षा केन्द्रमा अस्पताल बनाउने तयारी भएको छ।’ चीनमा सुरक्षा निकायलाई कोरोनाविरुद्ध उपचारमा संलग्न गराइएको उनले उल्लेख गरे ।

मन्त्री भट्टले कोरोनाको उपचारमा संलग्न हुने चिकित्सकहरूलाई चिनियाँ चिकित्सकले प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी दिए। यताबाट चीन लगेर प्रशिक्षण दिनुभन्दा पनि अस्पतालमा भिडियो कन्फेरेन्स गर्ने र चीनबाट प्रशिक्षक मगाउने तयारी भएको उनले बताए । चीनबाट कोरोनाको उपचारमा प्रयोग हुने औषधि र स्वास्थ्य उपकरण ल्याउने तयारी अन्तिम चरणमा पुगेको मन्त्री भट्टलाई उद्धृत गर्दै इकान्तिपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया