प्रत्येक प्रदेशले कम्तिमा दुई हजार क्षमताका क्वारेन्टाइनस्थल निर्माण गर्ने निर्णय

  चैत ०९, २०७६

काठमाडौं, चैत ९ : कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नको लागि प्रत्येक प्रदेशले कम्तिमा दुई हजार क्षमताका क्वारेन्टाइन्स्थल निर्माण गर्ने निर्णय गरिएको छ ।

कोभिड–१९ विरूद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदल संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईूको संयोजकत्वमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले प्रत्येक उपमहानगरपालिकाले कम्तिमा एकहजार, सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले कम्तिमा (हिमाली क्षेत्रको हकमा) छसय व्यक्ति र पहाडी क्षेत्रको हकमा एकहजार व्यक्ति र (तराई क्षेत्रको हकमा) दुईहजार व्यक्ति क्षमताका क्वारेन्टाइन्स्थल निर्माण गर्ने निर्णय गरेको छ ।

सार्वजनिक क्वारेन्टाइन स्थल सम्बन्धी मापदण्डको मस्यौदा आजै तयार गरी बेलुकासम्म गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेको टोलीले कार्य गरी पेश गर्ने निर्णय गरेको छ ।

पर्यटन विभाग र नेपाल पर्यटन वोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँग समन्वय गरी कम्तिमा दुईहजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूको स्थान सहितको विवरण तयार गरी सोमबार विहानसम्म पेश गर्ने निर्णय गरिएको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक पर्दा कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ विवरण तयार गरी सोमबार विहान पेश गर्ने निर्णय गरिएको छ ।

बैठकमा नेपाल सरकारले उपत्यकामा कम्तिमा छ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने र उक्त सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थाई अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने विषयमा पनि निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया