जङ्गलमा भेटिएको वस्तु पगाल्न खोज्दा विष्फोट

  चैत ०९, २०७६

धनगढी, चैत ९ : जङ्गलमा भेटिएको वस्तुलाई घरमा ल्याएर पगाल्न खोज्दा आइतबार कैलालीमा एक जनाको ज्यान गएको छ । गोदावरी नगररपालिका–४ फूलबस्तीका ४० वर्षीय नरबहादुर बिकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घर नजिकै जङ्गलमा दाउरा खोज्न गएको बेला बिकले तामाको डल्लो जस्तो वस्तु फेला पार्नु भएको थियो । त्यसलाई घरमा ल्याएर पगाल्न खोज्दा पट्केर घटनास्थलमै बिकको ज्यान गएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । ‘त्यो वस्तुमा विष्फोटक पदार्थ वा के थियो, अहिलेसम्म यकिन हुन सकेको छैन’, उहाँले भन्नुभयो ।

घटनास्थल गोदावरी नगरपालिकाको चुरे क्षेत्रमा पर्दछ । त्यहाँ पुग्नका लागि पाँच घण्टा पैदल यात्रा गर्नु पर्ने जनाइएको छ । विष्फोटमा परेर मान्छेको ज्यान गएको खबर आएपछि त्यसतर्फ प्रहरी टोली प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । ‘पैदल जानु पर्ने भएकाले हाम्रो टोली घटना भएको ठाउँमा अहिलेसम्म पुगिसकेको छैन’, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया