बिहारमा कोभिड–१९ बाट पहिलो मृत्यु, भारतमा मृतक संख्या ६ पुग्यो

  चैत ०९, २०७६

काठमाडौं, चैत ९ : भारतको बिहार राज्यमा कोभिड–१९ को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । बिहार राज्यको पटनास्थित एम्स अस्पतालमा कोभिड–१९ बाट संक्रमितको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारत बिहारको मुँगेर निवासी एक व्यक्तिको शनिबार बिहान मृत्यु भएको हो । उनी केही दिन अघि कतारबाट फर्किएका थिए । मृगौला असफल भई मृत्यु भएको भनिएपनि पछि उक्त व्यक्तिको परीक्षण गर्दा कोभिड–१९ को संक्रमण फेला परेको हो ।

भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या छ पुगेको छ । शनिबारसम्म बिहारमा कोभिड–१९ को संक्रमित फेला परेको थिएन । स्थानीयलाई उद्धृत गर्दै बीबीसीले अर्को एकजनामा कोभिड–१९ को संक्रमण फेला परेको छ । उक्त व्यक्ति केही दिन अघि स्कटल्याण्डबाट फर्किएका थिए ।

भारतकै अर्को सामाचार संस्था पीटीआईका अनुसार महाराष्ट्रमा कोभिड–१९ को अर्को एक संक्रमितको मृत्यु भएको छ । ६३ वर्षीय उक्त बिरामीको मृत्युसँगै मुम्बईका दुईजनाको संक्रमणले मृत्यु भएको हो । उक्त व्यक्ति उच्च रक्तचाप र मुटुका बिरामी थिए । बीबीसीले भने भारतमा कोभिड–१९ संक्रमितको संख्या ३४० पुगेको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया