कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

  चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् ।

स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री साबुन, मास्क, स्यानिटाइजर, पञ्जा जस्ता सामग्रीको अभाव हुन नदिने गरी योजना बनाएका हुन् । आ–आफ्नो स्थानीय तहभित्र खाद्य सामग्रीको कृत्रिम अभाव हुन नदिन जनप्रतिनिधिले निरन्तर अनुगमन गर्ने योजना स्थानीय तहले बनाएका छन् ।

धूलो उड्ने सडकमा स्थानीयवासीलाई स्वतस्फूर्त रूपमा पानी हालेर धूलो उड्न नदिने, हरिया सागपात, फलफूल खाने र माछामासु राम्रोसँग पकाएर मात्र खान जनप्रतिनिधिले आग्रह गरेको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएका छन् ।

सबै स्थानीय तहले स्वास्थ्य शाखाका कर्मचारीलाई उच्च सतर्क भएर पहिला आफू सुरक्षित हुने र त्यसपछि मात्रै अन्यको उपचारमा सक्रिय भएर लाग्न आग्रह गरेको उपत्यकाका मेयर फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

फोहोर नगर्न अनुरोध
नागार्जुन नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सरसफाइमा उच्च प्राथमिकता दिन सरोकारवालालाई आग्रह गरेको छ । नगरपालिकाले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमण हुन नदिन नगरप्रमुखको अध्यक्षतामा सरोकारवालाको बैठक बसी सरसफाइमा उच्च प्राथमिकता दिन आग्रह गरेको हो ।

नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा नगर स्तरीय अनुगमन समिति र वडाध्यक्षको नेतृत्वमा वडा स्तरीय अनुमगन समिति गठन गरी सरसफाइ र अत्यावश्यक सामग्रीको अभाव हुन नदिने निर्णय गरेको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताउनुभयो ।

नगर उपप्रमुखको संयोजकत्वमा स्वास्थ्यकर्मी, स्थानीय सङ्घसंस्था, राजनीतिक दल, सुरक्षाकर्मी सहितको नगर स्तरीय अनुगमन समिति र प्रत्येक वडामा वडा स्तरीय अनुगमन समिति निर्माण गर्ने निर्णय गरिएको हो ।

उहाँका अनुसार कोरोना लगायत अन्य रोगको सङ्क्रमणबाट बच्न सडक तथा बाटोमा पानी हालेर धूलो उड्न नदिन, मास्क, स्यानिटाइजर, पञ्जा साबुन जस्ता सामग्रीको अभाव हुन नदिने निर्णय भएको छ ।

महालक्ष्मी नगरपालिकाले कोरोनाका कारण आम जनमानसमा त्रास बढिरहेको बेला औषधि र पेट्रोलियम पदार्थको बिक्री वितरण तथा आपूर्ति सहज गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

कोरोना भाइरसका कारण जनमानसमा त्रास बढेका बेला अनुचित नाफा कमाउने उद्देश्यले औषधि एवं औषधिजन्य पदार्थ, स्वास्थ्य सामग्री खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको कृत्रिम अभाव सिर्जना नगर्न नगरपालिकाले सूचना जारी गरी व्यवसायीलाई आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया