भारतको सीमा नाकामा उच्च सतर्कता

  चैत ०९, २०७६

जनकपुरधाम, चैत ९ : कोरोना भाइरसको सङ्क्रमण नहुन दिन प्रदेश नंं. २ को सरकारले नेपाल–भारतको सीमा नाकामा उच्च सतर्कता अपनाएको छ । सीमा नाकाको विभिन्न ठाउँ गरी ३७ स्थानमा हेल्थ डेक्स राखेर कोरोनाको जाँच गर्ने काम गरिरहेको प्रदेश नं. २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश २ को मुख्य नाका रकसौल वीरगञ्ज, इनरवा जयनगर, जनकपुर भिठ्ठामोडमा सुरक्षाकर्मीको रोहवरमा स्वास्थ्यकर्मीद्वारा जाँच गर्ने गरिएको स्वास्थ्य निर्देशनालय प्रदेश नं. २ का स्वास्थ्य निर्देशक हरिसचन्द्र साहले बताउनुभयो । उहाँले ती दुवै नाकामा २० हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको र त्यस्तो कुनै शङ्कास्पद व्यक्ति फेला नपरेको बताउनुभयो ।

प्रदेश सरकारले जानकी मेडिकल कलेज एवं शिक्षण अस्पताल रमदैयामा ६०, सिटी अस्पताल जनकपुरधाममा २०, वीरगञ्जको नेसनल मेडिकल कलेजमा ५०, प्रादेशिक अस्पताल जनकपुरधाममा तीन, नारायणी उपक्षेत्रीय अस्पतालमा पाँच तथा गजेन्द्रनारायण सिंह अस्पतालमा तीनवटा आइसोलेसन वार्डको निर्माण गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक साहले बताउनुभयो ।

प्रदेश २ मा खास गरेर अहिले पनि लेजर गन, पीपीई, मास्क, एप्रोन तथा ग्लोभ्सको अभाव रहेको भए पनि भए जतिका स्रोत साधनको भरपुर मात्र परिचालन गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य जाँचका लागि सामग्री खरिद गर्न प्रदेश नंं. २ को सरकारले बजेट छुट्याए पनि नेपालमा नै स्टक नभएका कारणले समस्या भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी प्रदेश २ को जनस्वास्थ्य प्रयोगशालालाई व्यवस्थित गर्ने तथा कोरोनाजस्ता सङ्क्रमणको परीक्षण गर्ने किसिमले स्रोत साधन सम्पन्न बनाउने पक्षमा प्रदेश सरकार लागिपरेको सामाजिक विकास मन्त्रालयका उपसचिव डा. नवल झाले जानकारी दिनुभयो । प्रादेशिक अस्पताल जनकपुरधाममा धनुषा तथा सिरहा जिल्लाबाट विभिन्न मितिमा कोरोनाको आशङ्कामा आएका ११ जना व्यक्तिमा कोरोनाको कुनै लक्षण फेला नपरेको र उपचारपछि तत्कालै डिस्चार्ज गर्ने काम गरिएको प्रदेश नंं. २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

वैदेशिक रोजगारी गरी मलेसियाबाट आएका धनुषाका एक युवामा ज्वरो आएपछि उपचार गराउन प्रादेशिक अस्पताल आएको र उनको स्वानको परीक्षण काठमाडौँको टेकुस्थितको प्रयोगशालामा गर्दा नेगेटिभ रिपोर्ट आएको निर्देशनालयका उपनिर्देशक विजय झाले जानकारी दिनुभयो । त्यसैगरी विभिन्न जिल्लाबाट रुघाखोकी लागेपछि आशङ्काको आधारमा प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आएका युवकलाई वरिष्ठ फिजिसिएन कुलदीप पण्डितले परीक्षण गर्दा उनमा कोरोनाको कुनै लक्षण नदेखिएकाले उपचार गरी फिर्ता पठाएको निर्देशनालयका उपनिर्देशक झाले बताउनुभयो ।

अहिले मौसममा आएको परिवर्तनका कारणले रुघाखोकी आउँदा कोरोनाका कारण सर्वसाधारण त्रसित हुने गरेको भन्दै उपनिर्देशक झाले सामान्य रुघाखोकी आउँदा त्रसित हुनुपर्ने अवस्था नभए पनि आवश्यक सावधानी अपनाएर घर बाहिर निस्कने, पशुपक्षीको सम्पर्कमा नजाने तथा खोक्दा रुमाल, मास्क वा बहुलीले हातमुख छोप्ने कामकाज गर्नका लागि सबैमा आग्रह गर्नुभएको छ ।

उहाँले शनिबार धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको नेतृत्वमा चिकित्सकहरूको एक टोलीले जनकपुरको वडा नं. १३ स्थित मणिपाल शिक्षण कलेजको निर्माणाधीन भवनमा क्वारेन्टाइन स्थापनाका लागि निरीक्षण गरेको बताउनुभयो । उक्त ठाउँमा १५० जनाको व्यवस्थापन हुने गरी क्वारेन्टाइन स्थापना गर्न लागिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया