तेस्रो देशबाट आयात जारी

  चैत ०९, २०७६

नेपालगञ्ज, चैत ९ : कोरोना भाइरस भित्रिने डरले यहाँस्थित नेपाल–भारत नाकामा सवारीसाधनको सञ्चालनमा रोक लगाइए पनि कोरोनाको उद्गमस्थल चीनलगायतका तेस्रो देशबाट आउने गरेका सामग्रीको आयात जारी छ ।

चीनलगायतका तेस्रो मुलुकबाट आउने सामानलाई भारतको समुद्री बन्दरगाहमा १४ दिन सेल्फ क्वारेन्टाइनमा राखेर पठाउनुपर्नेमा सो गरिएको वा नगरिएको सम्बन्धमा केही पनि जानकारी नभएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले चीन, दक्षिण अफ्रिका, दुबई, पाकिस्तान र सउदी अरबलगायतबाट आउने सामानलाई भारतको बन्दरगाहमा १४ दिन क्वारेन्टाइनमा राखेर पठाइएको हो कि होइन केही जानकारी नभएको बताउनुभयो ।

उहाँले नेपालगञ्ज नाकामा ती सामानलाई क्वारेन्टाइन बनाएर राख्नेबारे केन्द्रबाट केही पत्र र निर्देशन नआएकाले यहाँ नरोक्ने गरिएको बताउनुभयो । भारतीय बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनरलाई तत्कालै भन्सार जाँच पास गरेर भित्र पठाउने गरिएको छ, प्रमुख निरौलाले भन्नुभयो ।

चीनलगायतका देशमा कोरोनाको कहर बढ्दै गएकाले पहिलेको तुलनामा अहिले तेस्रो देशबाट आउने सामानको आयातमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार गत पाँच दिनमा भारतीय बन्दरगाह हुँदै तेस्रो देश चीन, दक्षिण अफ्रिका, साउदी अरब, पाकिस्तान र दुबईबाट २५ करोड ३४ लाख रुपियाँभन्दा बढीका सामान नेपालगञ्ज भित्रिएका छन् । उक्त अवधिमा चीनबाट ३२ लाख रुपियाँको ब्याट्री रिक्सा र ६४ लाख रुपियाँको पावरट्रिलर भित्रिएको छ ।

यसैगरी पाकिस्तानबाट २५ लाखको ककरासिङ्गी र गुग्गल, दक्षिण अफ्रिकाबाट १९ करोड रुपियाँको स्टिम कोइला, साउदी अरबबाट ९१ लाखको पाइप बनाउने सामान र तीन करोड ७६ लाख रुपियाँको तामाको तार आयात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

शनिवार पनि नेपालगञ्ज नाकाबाट तेस्रो देशको सामान बोकेका सातवटा कन्टेनर भित्रिएको भन्सार कार्यालयमा पुगेको जमुनाह प्रहरीले जनाएको छ । ती कन्टेनरको भन्सार आइतबार गरिने छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले कोरोना भाइरस फैलिएका देशबाट गएको सामानमार्फत पनि धेरै देशमा कोरोना फैलिएको पाइएको जनाउँदै चीनलगायतका देशबाट आउने सामानलाई क्वारेन्टाइनमा राखेर मात्र भिœयाउनुपर्ने बताउनुभयो ।

उहाँले तेस्रो देशबाट नेपाल आउने सामान १४ दिन क्वारेन्टाइनमा राखेर पठाइएको हो वा होइन सोबारेमा भन्सार कार्यालय जानकार हुनु आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया