इटलीमा एकै दिनमा ६२७ को मृत्यु, सेनाको सहयोगमा हिँडडुल गर्न थप कडाइ गरिँदै

  चैत ०८, २०७६

रोम, इटाली, चैत ८ : कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीले भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने यहाँको सरकारले शनिबार बताएको छ ।

एकै दिनमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२७ पुगेपछि सरकारले नागरिकहरूलाई उनीहरूकै घरहरूमा राख्नका लागि सेनाको सहयोग लिन लागेको बताएको छ । शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको समयमा इटलीमा एकै दिनमा अहिलेसम्ममा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।

इटलीको उत्तरी क्षेत्र खासगरी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ सहयोगका लागि पुगेको चिनियाँ स्वास्थ्य टोलीले नागरिकलाई हिँडडुलमा रोक लगाउने काम कडा नभएका कारण संक्रमण फैलिने क्रम जारी रहेको बताएपछि प्रशासनले सेनाको सहयोगमा नागरिकहरूलाई घरभित्र सिमित रहने व्यवस्था गरेको छ ।

लोम्बार्डीमा नागरिकहरू हतास भएका दृष्यहरू देखिएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । अस्पतालहरूमा हजारौँ व्यक्ति संक्रमित भएको आशंकामा भीड लागेपछि उपचार सेवाको उचित प्रबन्ध मिलाउन जटिलता देखिएको सीएनएनले बताएको छ ।

स्वास्थ्यकर्मीको अनुरोधमा प्रभावित क्षेत्रलाई लकडाउन (बन्द ) गर्न सेना प्रयोग गर्न गरिएको अनुरोधलाई सरकारले स्वीकार गरेको लोम्बार्डीका प्रशासन प्रमुख एटिलियो फोन्टानाले बताउनुभयो । उहाँले लोम्बार्डी क्षेत्रमा ११४ सैनिक परिचालन गरिएको र आवश्यकताअनुसार यो संख्यालाई बढाइने बताउनुभयो । इटलीमा सबैभन्दा पहिले लोम्बार्डीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उहाँले भन्नुभयो, “उपचारका कारण यो सातासम्ममा संक्रमित घट्ने अपेक्षा गरिए पनि संक्रमितको संख्या नियन्त्रणमा आउन नसके पनि यहाँ पहिलेको तुलनामा नयाँ बिरामीको संख्यामा कमी आउन थालेको छ तर मृत्युदर भने बढेको छ ।” इटालीमा शनिबारसम्म चार हजार ३२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ भने ४७ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा इटलीमा करिब छ हजार थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया