झुलाघाट नाकाबाट स्वदेश फर्किने बढे

  चैत ०८, २०७६

बैतडी, चैत ८ : पश्चिम नेपालको झुलाघाट सीमा नाकाबाट स्वदेश फर्किनेहरुको संख्या बढ्न थालेको छ । स्वदेश फर्किनेमा रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपालीहरु रहेका छन् ।

कोरोनाका कारण भारतमा काम गर्दै आईरहेका कम्पनी बन्द भएपछि घर फर्किन लागेको मुगु जिल्लाका महेश विश्वकर्माले बताउनुभयो । “यता नयाँ वर्ष पनि आउन लाग्यो, उता काम गर्ने कम्पनी पनि बन्द भयो त्यसैले घर फर्किन लागेको” विश्वकर्माले बताउनुभयो ।

झुलाघाट सीमा नाकाबाट दैनिक सय भन्दा बढी नेपालीहरु घर फर्किरहेको झुलाघाट सीमा प्रहरी चौकीले जानकारी दिएको छ । स्वदश फर्किनेहरुको सीमामा स्वास्थ्य परीक्षणमा कडाई गरिएको कोरोनो चेकजाँच सहायता कक्षका स्वास्थ्यकर्मीले सुरज भट्टले बताउनुभयो । झुलाघाट सीमा नाकाबाट स्वदेश फर्किनेहरुको संख्या एक हजार तीनसय नाघेको भट्टले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा दशरथ चन्द नगरपालिकाले झुलाघाट सीमा नाकामा गत फागुन १० गतेबाट कोरोना चेकजाँच सहायता कक्ष स्थापना गरेर भारतबाट नेपाल आउनेहरुको स्वास्थ्य परीक्षण थालिएको दशरथ चन्द नगरपालिकाका उप पमुख मीना चन्दले बताउनुभयो ।

कोरोना चेकजाँच गर्ने स्वास्थ्यकर्मीको स्वास्थ्यलाई समेत ध्यान दिएर झुलाघाट सहायता कक्षमा स्वास्थ्यकर्मीकालागि विशेष सुरक्षायुक्त ड्रेसको व्यवस्था गरिएकोे स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

साधनश्रोत विना काम गर्दा स्वास्थ्यकर्मी समेत स्वास्थ्य जोखिममा पर्ने भएकोले सुरक्षासहित उपकरण र पूरै जिउ ढाकिने लगुा उपलब्ध गराईको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

तल्लोस्वराडका सबै घाट बन्द
यसैबीच, बैतडीको तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको महाकाली नदीमा नेपाल भारत आवतजावत हुने डुङ्गा चल्ने घाट बन्द गरिएको छ ।

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका चैत ६ गते बसेको गाउँ कार्यपालिका बैठकले भारतमा कोरोनाका बिरामी फेला परेकोले महाकाली नदीबाट डुङ्गा तरेर नेपाल –भारत आवत जावत गर्ने घाट बन्द गरिएको शिवनाथ गाउँपालिकामा उप प्रमुख कुशमा चन्दले जानकारी दिनुभयो ।

नेपाल–भारत आवतजावत गर्न तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा ८ वटा घाटहरु रहेका छन् । ती घाटमा स्वास्थ्यकर्मीको उचित व्यवस्था नहुँदा स्वास्थ्य परीक्षण नगरि आवत जावत भईरहेकोले नाका बन्द गर्ने निर्णय भएको उप प्रमुख चन्दले बताउनुभयो ।

भारतबाट नेपाल आउनेहरुका लागि बैतडीको झुलाघाट नाका खुला रहेकोले तल्लोस्वराड क्षेत्रको महाकाली नदीमा रहेका घाट अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको पञ्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ ।

बैतडी अस्पतालमा तीन बेडको आईसोलेसन
जिल्ला अस्पताल बैतडीले संभावित कोरोना सङ्क्रमितको उपचार गर्न तीन बेडको आईसोलेसन निर्माण गरेको छ ।

एक साताअघि स्थापना भएको आईसोलेसनमा अहिलेसम्म कुनै पनि संभावित बिरामी नभेटिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुम डाक्टर वशन्तराज जोशीले जानकारी दिनुभयो ।

अस्पतालमा मास्क अभाव
जिल्ला अस्पताल बैतडीमा मास्क अभाव भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धढगढीबाट मास्कको आपूर्ति नहुँदा सामान्य कपडाको मास्क प्रयोग गरेर बिरामीको उपचार गर्नु परिरहेको जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बताउनुभयो ।

डाक्टर जोशीले भन्नुभयो, अस्पतालमा ५० जना स्टाफ कर्मचारी छन् । दैनिक एक जनाले एउटा मास्क प्रयोग गर्दा पनि न्यूनतम ५० वटा मास्क आवश्य परे पनि मास्क नहुँदा कपडाको मास्क प्रयोग गरिरहेका छौं ।

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रसँग मास्कका लागि अनुरोध गर्दा धनगढीमा मास्क अभाव भएकोले आपूर्ति गर्छौ भने पनि बैतडी अस्पतालमा मास्क नआईपुगेको डाक्टर जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया