गोदावरीको बज्रबाराही अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने

  चैत ०८, २०७६

ललितपुर, चैत ८ : गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । नगरपालिकाले कोभिड–१९को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा १० देखि १५ जना बिरामी अट्ने क्वारेन्टाइन निर्माण गर्न लागेको हो ।

कोरोनाबाट सावधानी अपनाउन सो क्वारन्टाइनको व्यवस्थापन भइरहेको नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । क्वारेन्टाइन तयार गर्न कार्यपालिका बोर्डले बजेट व्यवस्थापन गर्ने निर्णयसमेत गरिसकेको छ । नगरपालिकाले कोभिड–१९ को त्रासलाई हटाउन १४ वटै वडामा स्वास्थ्यचौकीसहितको हेल्थ डेस्क, नगरपालिका भित्रने हरेक मानिसको ज्वरो नाप्ने गन, मास्क र स्यानिटाइजर प्रयोग गर्न लगाउने व्यवस्था गरिरहेको महर्जनले जानकारी दिनुभयो ।

यदि कोभिड–१९ का कारण गोदावरीमा आपतकालीन अवस्था देखिए यसको व्यवस्थापनका लागि आफूहरुले पाँचदेखि १० श्यया आइसोलेसन दि लेप्रोसी मिसन नेपालको सहयोगमा बनाउने वडा नं ६ मा सञ्चालित आनन्दवन अस्पतालका निमित्त मेडिकल निर्देशक डा महेश शाहले बताउनुभयो ।

यसैगरी गोदावरीका हरेक वडाले विदेशबाट घर फर्कने नागरिकको तथ्याङ्क सङ्कलन गरी घरमै आइसोलेसनमा बस्न लगाउने, नगरपालिकाभित्र हुनसक्ने बिरामीलाई ध्यानमा राखी पाँच एम्बुलेन्स तयारी अवस्थामा राखेको, संक्रमण देखिएमा नगरपालिका र प्रहरी मिलेर अस्पतालसमेत लैजाने व्यवस्था गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया