पैदलयात्रुलाई मास्क वितरण

  चैत ०८, २०७६

काठमाडौं, चैत ८ : काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगरमा महानगरीय प्रहरी बृत्त बौद्ध र सरस्वतीनगर टोल सुधार समितिको संयुक्त टोलीले पैदलयात्रुलाई एक हजार ८०० सर्जिकल मास्क वितरण गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट हुनसक्ने महामारीबाट सचेत हुन जनचेलनामूलक कार्यक्रमसहित गोपीकृष्ण हलबाट कपन जाने र आउने पैदलयात्रु तथा मोटरसाइकलमा सवार यात्रुलाई मास्क वितरण गरिएको समाजसेवी तथा पूर्वप्रहरी कर्मचारी परिषद्का केन्द्रीय सचिव जयन्द्र सङ्ग्रौलाले बताउनुभयो ।

भेनसर बिजनेस हाउस प्रालिका प्रोपराइटर अजय महासेठको सहयोगमा सङ्कलन भएको उक्त मास्क वडा नं ६ का वडाध्यक्ष दीपेन्द्र लामा तथा महानगरीय प्रहरी बृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीको सक्रियतामा वितरण गरिएको हो ।

वडाध्यक्ष दीपेन्द्र लामाका अनुसार कोरोना भाइरसबाट हुनसक्ने महामारीलाई केही हदसम्म नियन्त्रण गर्ने हेतुका साथ गरिएको यो सामाजिक काम निकै उदाहरणीय रहेको छ । यस्तो कार्यले अन्य व्यवसायी तथा नागरिकमा सामाजिक काम गर्न प्रोत्साहन पुग्ने उहाँो भनाइ छ ।

यस्तै अब छिट्टै यस क्षेत्रका सडकमा सर्वसाधारणलाई सुरक्षित अपनाउन सेवा पुगोस् भनेर साबुनपानी तथा स्यानिटाइजरसहितको व्यवस्था गर्ने पहल भइरहेको उहाँले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक नवीन कार्कीले उक्त महामारीबाट सजग तथा सुरक्षा अपनाउन भीडभाडमा नजान तथा धेरैको सङ्ख्यामा भेला भएर कुनै पनि कार्य नर्गन अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया