कोभिड–१९ बारे जानकारी दिन कामपाको सहायता कक्ष

  चैत ०८, २०७६

काठमाडौं, ८ चैत : काठमाडौँ महानगरपालिकाले कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रियसभागृहमा केन्द्रीय सहायता कक्ष स्थापना गरेको छ । आफू परिवार वा आसपासमा कसैलाई भाइरस सङ्क्रमणको शङ्का लागेर, अब के गर्ने भन्ने थाहा नपाएकालाई टेलिफोन परामर्शका लागि कक्ष स्थापना गरिएको प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।

यस सहायता कक्षबाट कारोना रोगबारे जानकारी दिने, कोही सङ्क्रमण भए अस्पतालसम्म लानका लागि सहयोग गर्ने, अस्पताल र बिरामीसँग समन्वय गरेर उपचारका लागि सहजीकरण गर्ने काम हुनेछ । प्रमुख ढकालका अनुसार कामपाको हटलाइन पनि यसै स्थानबाट सञ्चालन हुनेछ । बिहीबार बसेको बसेको कार्यपालिकाको आकस्मिक बैठकले हटलाइन टेलिफोन सेवा २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कार्यपालिका बैठकले भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि रु १० करोडको आकस्मिक कोष स्थापना गर्ने, केन्द्र र वडास्तरमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्रीसहितका सहायता कक्ष स्थापना तथा सञ्चालन गर्नेलगायत निर्णय गरेको थियो । आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले एक अपिल जारी गर्दै सङ्क्रमणको आशङ्का लागे हटलाइन ११८० मा सम्पर्क गर्न, भीडभाड नगर्न अनुरोध गर्नुभएको छ ।

त्यस्तै महानगरकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठले महानगरमा अत्यावश्यकीय सामग्रीमा कालोबजारी नियन्त्रण गर्न अनुगमन कार्यलाई निरन्तरता दिइने बताउनुभयो । सहायता कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो । अहिले विश्वमा नै कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले कामपाले पनि सजगकता अपनाएको छ ।

तपाईको प्रतिक्रिया