बन्द धागो कारखाना अब सय बेडको अस्थायी अस्पताल

  चैत ०७, २०७६

बुटवल, चैत ७ : चितवनको भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन भए लगत्तै बुटवलमा पनि त्यस्तै प्रकृतिको अस्पताल छिट्टै सञ्चालन हुंदैछ ।

भारतीय सिमाना सुनौली नजिकको शहर बुटवलमा बन्ने यस्तो अस्पतालले कोरोनाको संभावित खतरासंग जुध्न ठूलो सहयोग पुग्ने छ ।

छुट्टै आईसोलेसन वेडहरु रहने यो अस्पतालको नाम बुटवल कोरोना बिशेष अस्थायी अस्पताल राखिएको छ । शुक्रबार निर्माण थालिएको अस्पताल २४ घण्टाभित्रै सञ्चालनमा ल्याईने तयारी छ ।

बुटवल रामनगरको औद्योगिकक्षेत्रस्थित बन्द अवस्थामा रहेको धागो कारखानामा आईसोलेसन अस्पताल संचालन गर्न लागिएको हो । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सहकार्यमा अस्पताल सञ्चालनमा आउदैछ ।

सुनौली नाका र अनेक खुल्ला नाकाहरु रहेको रुपन्देहीमा भारतबाट कोरोना भित्रिने त्रासलाई मध्यनजर गर्दै अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार २४ घण्टा भित्र संचालनमा ल्याईने अस्पतालमा एकसय आईसोलेसन बेड हुनेछन् ।

शनिबार साझसम्म संचालनमा आउने अस्पताल संचालनका लागि आवश्यक बेडका लागि बुटवल र वरपरका निजी अस्पतालहरुले पनि सहयोग गर्ने छन् । धेरै बर्षदेखि बन्द धागो कारखानामा तीसवटा भन्दा बढी बेड बनाउन सकिने संरचना पहिल्यै छन् । तिनलाई मर्मत गरेर प्रयोग गर्न सकिने छ ।

अस्पताललाई प्राविधिक सहयोग लुम्बिनी प्रादेशिक अस्पतालले गर्ने छ । विरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि एकसय थान सुरक्षित एप्रोन काठमाण्डौबाट ल्याईने प्रमुख सुबेदीले बताउनुभयो ।

अस्पताल बनाईने भवनमा अहिले सरसफाइ, रंगरोगन र पूर्वाधार निर्माण तीब्र पारिएकोे छ । यसका लागि युवा र स्वयमसेबकहरु पनि खटिएका छन् । यो स्थानमा ३० वटा अस्थायी शौचालय बन्दैछन् । त्यसका लागि निर्माण व्यवसायी संघ रुपन्देहीले सहयोग गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्राईले संभावित खतरालाई टार्न यो अस्पताल प्रभावकारी हुने बताउनु भयो । संकटको बेला यस्ता कार्यमा सबैको सहकार्य आबश्यक रहेको पनि उहांले बताउनु भयो ।

तपाईको प्रतिक्रिया