कर्मचारीलाई उपत्यका नछाड्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न कर्मचारीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेका १८ वटा विभाग, अस्पताल तथा प्रयोगशालालाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिब प्रमोद सिंखडाले महामारीको रुपमा फैलिरहेको कोभिड–१९ रोगको संक्रमण नेपालभित्र रोक्ने कार्यको व्यवस्थापनका लागि कर्मचारीलाई उपत्यका नछोड्न निर्देशन दिइएको जानकारी दिनुभएको छ ।

उहाँले मन्त्रालय अन्र्तगतका विभाग/कार्यालयमा कार्यरत सह–सहसचिब स्तरका कर्मचारीहरु र विभागीय प्रमुखहरु सार्वजनिक विदाको दिन समेत कार्यालयमा उपस्थित भई कामकाज गर्नुहुने निर्णय गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिब स्तरीय बैठकबाट उक्त निर्णय लिइएको हो । निर्णय बमोजिम उप–सचिब र अधिकृतस्तरका कर्मचारीहरुले काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइएको छ ।

मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाभित्रका १८ वटा अस्पताल, विभाग, प्रयोगशालालाई पत्राचार गरेको छ । स्वास्थ्य सेवा विभाग, टेकु, औषधि व्यवस्था विभाग, बिजुलीबजार, आन्तरिक प्रशासन शाखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर रहेको छ ।

त्यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल रहेको छ । उक्त निर्णय नरदेवी आयुर्वेद चिकित्सालय, पशुपति होमियोप्याथिक चिकित्सालय र राष्ट्रिय औषधी प्रयोगशालामा कार्यान्वयनका लागि पत्राचार गरिएको छ ।

तपाईको प्रतिक्रिया