विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने

  चैत ०७, २०७६

काठमााडौं, चैत ७ : विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै आन्तरिक विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको सरसफाइलाई तीव्र सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताउनुभयो ।

मन्त्रालयमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलको सरसफाइ अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले विमानस्थलको सफाइलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले काम अघि बढाउने स्पष्ट पार्नुभयो । उहाँले सफाइ मजदूरलाई आवश्यक तालीम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाइमा परिवर्तन ल्याइने बताउनुभयो ।

सो अवसरमा एनआरएनए अभियानकर्मी एवं सफाइ विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलको सरसफाइ अवस्थाको बेग्लाबेग्लै ‘अडिट’बुझाउनुभएको थियो । धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(आन्तर्राष्ट्रिय) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।

‘अडिट’मा हाल विमानस्थलको सरसफाइको अवस्था, कानूनी समस्या र आगामी दिनमा गर्नुपर्ने कामको सूची र सुझाव समावेश छ । शर्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सरसफाइ गर्नुपर्ने सफाइका स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने, सरसफाइ मजदूरलाई तालीमको व्यवस्था गर्नुपर्ने, सफाइ मजदूरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्नेलगायतका सुझाव दिनुभएको ।

मन्त्री भट्टराईले उल्लेखित सुझाव महत्वपूर्ण र सान्दर्भिक भएको भन्दै ती सुझावका आधारमा विमानस्थलको सरसफाइ शुरु गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिनुभयो । उहाँले ती सबै सुझाव सम्बन्धित विमानस्थलमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिनुभएको हो । सुधारका सुझाव तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्थाबारेमा प्रतिवेदन तयार पार्न मन्त्री भट्टराईले निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया