ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

  चैत ०७, २०७६

महोत्तरी, चैत ७ : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–८ कटैया गाउँमा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

गाउँको भित्री सडकमा अत्यधिक तीव्र गतिमा आउँदै गरेको ज १ त ५२४१ नं को ट्र्याक्टरले आफ्नै घर अगाडि उभिरहेका बालक अन्सारीलाई पछाडिबाटै अचानक ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बालकलाई उपचारका लागि स्थानीय स्वास्थ्य क्लिनिकमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरको ठक्करबाट मृत्यु भएका बालक अन्सारीको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ भने घटनापश्चात ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया