पूर्वतयारी तीव्र : हजार आइसोलेसन बेड

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : सरकारले काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी आइसोलेसन बेड तयारी अवस्थामा राख्ने भएको छ । कोरोना भाइरस संक्रमण भइहाले उपचारका लागि पूर्वतयारी गरिएको हो । उपत्यकामा १ सय २० वटा सघन उपचार कक्ष (आईसीयू) बेड तयारी अवस्थामा छ । उपत्यकाबाहिर पनि सोहीअनुसारको तयारी गर्न सरकारले निर्देशन दिएको छ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले संघ, प्रदेश र स्थानीय तहको सहकार्यलाई व्यवस्थित ढंगले अघि बढाइएको बताए । उनले भने, ‘तीनै तहको सरकारको सहकार्य राम्रो विन्दुमा छ । सबै मिलेर यो समस्याबाट बच्न र सबै नागरिकलाई सुरक्षित तहमा राख्न सक्छौं ।’

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन रोकथामका उपाय अपनाइएको बताए । मुलुकभरका सबै अस्पतालमा निमोनियाका बिरामीको सूची तयार गरी परीक्षण भइरहेको उनले बताए ।

उनका अनुसार स्वदेशी एवं विदेशी विज्ञसँग परामर्श गरी रोकथामको उपाय र भविष्यमा आउने चुनौती सामना गर्न पूर्वतयारी भइसकेको छ । कोरोना भाइरस परीक्षणका लागि सम्बन्धित चिकित्सकको सिफारिस चाहिने उनले प्रस्ट पारे ।


नेपालको अवस्था

कोरोनाको नमुना परीक्षण  : ५२९

भाइरस नेगेटिभ देखिएको  : ५२८

भाइरस पोजेटिभ  : १ (निको भइसकेको )

पछिल्लो समय पर्ख र हेरको अवस्थामा रहँदारहँदै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्थामा पुगेको डा. खतिवडाले बताए । डब्लूएचओले नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमा कोरोनाको उच्च जोखिम रहेको बिहीबार जनाएको थियो । डब्लूएचओको दक्षिणपूर्वी एसियाकी निर्देशक पुनम खेत्रपाल सिंहले संक्रमणबाट बचाउने प्रयास गर्नुपर्ने बताएकी थिइन् ।

संक्रमणको प्रभाव पर्न सक्ने जनाएपछि शैक्षिक संस्था बन्द गर्नुपरेको सरकारले स्पष्ट पारेको छ । मन्त्री खतिवडाले दीर्घकालीन असर नपरोस् भन्ने हेतुले शैक्षिक संस्था बन्द गरिएको जानकारी दिए । उनले भने, ‘ अभिभावकले पनि विद्यार्थीलाई किन जोखिममा राख्ने भन्ने दबाब दिएको विषय पनि मनन ग¥यौं । नागरिक समाजका प्रबुद्ध व्यक्तिले पनि परीक्षा सार्दा के बिग्रन्थ्यो भन्ने कुरा राख्नुभयो । जोखिममा विद्यार्थीलाई किन राख्ने भन्ने भएपछि केही समयका लागि परीक्षा स्थगित गरिएको हो ।’

शैक्षिक क्यालेन्डर नबिग्रने गरी व्यवस्थापन गर्न सकिने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरिएको उनले बताए । त्यस्तै विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षिक गतिविधि चैत मसान्तसम्मका लागि स्थगन गरिएको छ ।

संक्रमणबाट भारतमा ४ जना, पाकिस्तानमा एक, बंगलादेशमा एक जनाको ज्यान गएको छ । मृत्यु भएका सबै विदेशबाट संक्रमित भई स्वदेश फर्केका थिए ।

श्रीलंकामा संक्रमण फैलन नदिन कफ्र्यु लगाइएको छ । त्यस्तै पाकिस्तानका राष्ट्रपति रसिद अल्बी क्वारेन्टाइनमा छन् । डब्लूएचओले हालसम्म १ सय ६६ मुलुकमा कोरोना भाइरस संक्रमण फैलिसकेको जनाएको छ । संक्रमितको संख्या २ लाख नाघिसकेको छ । ८ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस प्रभावित मुलुकबाट आएका व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको छ । ५ सय २९ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ५ सय २८ जनाको भाइरस नेगेटिभ देखिएको छ । डेढ महिनाअघि भाइरस पोजेटिभ देखिएका युवा अहिले निको भइसकेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले दिनहुँ परीक्षण गरिरहे पनि भाइरस संक्रमित व्यक्ति कोही नभएको बताइन् ।

तेस्रो चरणमा पुग्न नदिइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरस संक्रमणको चार तह हुने चर्चा गर्दै महामारीको अवस्थामा पुग्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री भट्टले स्वदेशमा भाइरस भित्रन नदिने र संक्रमण भइहालेमा तेस्रो चरणमा जानबाट रोक्ने बताए । ‘पहिलो प्रयास त कोरोना भाइरसलाई आउनै नदिने हो । भाइरस आइहालेमा तेस्रो चरणमा जान नदिने हो’, उनले भने । संक्रमण रोक्न जनता आफैं सचेत हुनुपर्ने मन्त्री भट्टको भनाइ छ ।

यसैबीच चीन सरकारले एक लाख एन ९५ मास्क र २० हजार थान थर्मल गन सरकारलाई हस्तान्तरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् । 

तपाईको प्रतिक्रिया