कोभिड १९ : सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता

  चैत ०६, २०७६

काठमाडौं, चैत ६ : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि सरकार, राजनीतिक दल, जनता तथा सरोकार भएका एकताबद्ध भएर सामूहिक अभियान चलाइनुपर्नेमा सांसदले जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा विपद्का घडीमा सरकार र कुनै पार्टीविशेषका नभनी भाइरसको सम्भावित खतराबाट बच्नका लागि विशेष सतर्कता अपनाउन सरकारलाई आग्रह गर्दै सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले आफूहरुको भूमिकालाई पनि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गोपीबहादुर अछामीले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न सरकारको पूर्वतयारी स्वागतयोग्य रहे पनि यतिले मात्रै चुनौतीको सामना गर्न नसकिने भएकाले सरकार, राजनीतिक दल र जनता सबैले एकताबद्ध भएर पहलकदमी लिन जरुरी भएको बताउनुभयो । सांसद अछामीले सरकार, सदनलगायत सबैले जिम्मेवारीका साथ आआफ्नो स्थानबाट भूमिका बहन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रकाश पन्थले सरकारले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि अपनाएको पूर्वतयारी र स्वास्थ्य सतर्कता सकारात्मक छ भन्दै यसलाई थप प्रभावकारी बनाउन सरकार तथा सबै राजनीतिक दल एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

नेकपाकै नैनकला ओझाले भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले विशेष सावधानी अपनाउँदै खुला सिमानालाई समेत निश्चित अवधिका लागि बन्द गर्नुपर्ने बताउनुभयो । सोही पार्टीका जगप्रसाद शर्माले कोरोनाविरुद्धको साझा अभियानमा सबै राजनीतिक दल र जनताको साथ र सहयोग लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभयो ।

नेकपाकी कोमल वलीले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि कडा कारवाहीको माग गर्नुभयो । सोही दलका भैरवसुन्दर श्रेष्ठले विदेशबाट फर्काइएका नेपालीलाई स्वदेश प्रवेश गर्दा स्वास्थ्य सुरक्षालगायत विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

नेकपाकै तुलसाकुमारी दाहालले स्थानीय तहमा ४१ प्रतिशत महिलाको सहभागिता भए पनि दक्षता, क्षमता र योग्यतामाथि प्रश्न उठाइएको भन्दै गुनासो गर्नुभयो । सोही दलकी डा विमला पौडेलले विदेशबाट फर्किएका नेपालीको स्वास्थ्य परीक्षणको अवस्था तथा कतारले हालै फर्काएका नेपालीको अवस्था के छ भन्ने जानकारी दिन सभाध्यक्षमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

नेकपाकी उदया शर्मा पौडेले काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधानका लागि हालको असमान वितरण प्रणालीलाई सुधार गरिनुपर्छ भन्दै मेलम्ची खानेपानी आयोजनालाई छिटो सम्पन्न गराउनेतर्फ सरकारको ध्यान जान जरुरी भएको बताउनुभयो ।

नेपाली काँग्रेसका तारादेवी भट्टले भारतले नेपाली भूमि लिपुलेक र कालापानीलाई आफ्नो भूभागमा देखाउँदै आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेको र हालै कञ्चनपुरको बेलौरीलगायत स्थानमा समेत भूमि अतिक्रमण गरेकाले तत्काल कूटनीतिक माध्यममार्फत समस्या समाधान गर्न सदन तथा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया