कोरोना संक्रमण भयो भने रोकथाम कसरी गर्ने ?

  चैत ०६, २०७६

काठमाडौँ, चैत ६ : संसारभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका प्रयासलाई तीव्र बनाउन विज्ञहरुले सुझाव दिएका छन् । उत्तरी छिमेकी चीनमा पत्ता लागेको भाइरस कोभिड–१९ युरोप, अमेरिका हुँदै दक्षिणी छिमेकी भारतमा पनि प्रकोपका रुपमा बढिरहेका बेला नेपालमा भने यसको संक्रमण देखिएमा के गर्ने भन्नेमा गम्भीर तयारी नभएको उनीहरुले बताएका हुन् । 

कान्तिपुर पब्लिकेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको राउन्ड टेबुलमा त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विभाग प्रमुख प्रा.डा. सुवास आचार्यले भने, ‘अहिले हामी भेन्टिलेटर र आईसीयूको क्षमता कति छ भन्नेतिर बढी गएका छौं । तर, तयारी त संक्रमण भएको विरामी भेटिएको खण्डमा उसको उपचार कहाँ गर्ने ? त्यसका लागि स्वास्थ्यकर्मीलाई कसरी प्रशिक्षित गर्ने, उनीहरुलाई मास्क र सुटलगायतका सामग्री उपलब्ध गराउने र त्यसपछि कसरी अरुको सम्पर्कबाट बाहिर राख्ने भन्नेमा हुनुपर्ने हो ।’ अन्य रोगको तुलनामा छिटो फैलिने सम्भावना भएको हुनाले यसको संक्रमण भएकाको सम्पर्कमा पुग्नेहरुलाई संक्रमित हुनुबाट जोगाउनेतर्फ ध्यान दिनुपर्नेमा सरकार यसको तयारीमा चुकेको उनले बताए । ‘मानौं भोलि कसैमा कोरोना देखियो ।

एन ९५ मास्क र यसको संक्रमणबाट जोगाउने सुटसहित हामीले यसको उपचारमा कतिजना स्वास्थ्यकर्मी तयार गरेका छौं ? अरु बिरामी र स्वास्थ्यकर्मी नजाने गरी कतिवटा अस्पताललाई यसकै उपचारमा केन्द्रित गरेका छौं ? संक्रमितलाई मात्रै राख्नेगरी कतिवटा आइसोलेसन वार्ड तयार पारेका छौं ?’ उनले प्रश्न गरे । कांग्रेस सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संक्रमण नदेखिँदै गरिनुपर्ने पूर्वतयारीमा ढिलाइ भएको बताए । उनले सरकारले तत्काल सम्पूर्ण हवाई यात्रामा प्रतिबन्ध लगाउनु पर्ने, भारतसँगका स्थल नाकाबाट भइरहेको आवातजावतको कडाइका साथ निगरानी गर्नु पर्ने र सहरहरुमा मानिसहरुको धेरै आवातजावत रोक्नुपर्ने बताए । उनले तत्काल सबै परीक्षाहरु बन्द गर्न पनि माग गरे ।

‘कति कामहरु घरमै बसेर टेलिफोन र इन्टरनेटबाट गर्न सकिने हुन्छन् । त्यस्ता कामका लागि कार्यालयमा किन जम्मा हुने ?’ उनले भने, ‘सरकारले सबैको यात्रा विवरण पनि राख्नु आवश्यक छ । यसो भएको खण्डमा कसैलाई संक्रमण भइहाले, उसको सम्पर्कमा रहेका मानिसहरुलाई पनि छुट्टै राखेर संक्रमण फैलिनबाट रोक्न सकिन्छ ।’ थापाले सरकारले बनाएको कोभिड– १९ सम्बन्धी संयन्त्रले हरेक दिन पत्रकार सम्मेलन गरेर जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्ने पनि बताए । ‘सही सूचनाको अभावले धेरैखाले हल्ला फैलिन्छन्, सरकारले यसमा ध्यान पुर्‍याउनु जरुरी छ,’ उनले भने । 

थापाले बढीभन्दा बढी शंका लागेका व्यक्तिमा परीक्षण गर्नु पनि आवश्यक रहेको बताए । ‘हाम्रो ल्याबको जति क्षमता छ, त्यति मात्रामा परीक्षण हुनुपर्‍यो र यो व्यवस्था काठमाडौंमा मात्र होइन, देशका सबै प्रमुख सहरहरुमा हुनुपर्‍यो ।’ थापाले काठमाडौंमात्र नभई अन्य सहरमा पनि कोरोनाकै उपचारलाई मध्यनजर राखी फिभर क्लिनिक, आइसोलेसन वार्ड र आइसियुको व्यवस्था तुरुन्त गर्न पनि माग गरे । ‘काठमाडौंमा टेकु, कीर्तिपूरका अस्पतालका अलावा कम्तिमा एउटा मेडिकल कलेज र एउटा निजी अस्पताललाई कोरोनाको मात्र उपचार हुने अस्पतालका रुपमा व्यवस्था गर्नु पर्छ,’ उनले भने । काठमाडौंबाहिर पनि मेडिकल कलेज र निजी अस्पताललाई सरकारले यसैगरी प्रयोग गर्नुपर्ने सुझाव उनले दिए । राउन्ड टेबलमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले हालसम्म नेपालमा ५ सय ११ जनामा कोरोना भाइरसको परीक्षण गरिएको बताइन् ।

उनले हालको अवस्थामा दैनिक एक हजारदेखि १५ सयजनासम्मको परीक्षण गर्न सकिने र थप एक हजारको गर्न मिल्ने गरी क्षमता विस्तार गरिरहेको पनि बताइन् । ‘हामीले दिनको एक हजार जनाको अहिले नै परीक्षण गर्न सक्छौं तर त्यसका लागि सरकारले प्रोटोकल नै परिवर्तन गर्नुपर्छ । हामीलाई जुन प्रोटोकल दिइएको छ, त्यसअनुसार हामीले सबै स्पाम्पलको परीक्षण गर्न सक्दैनौं,’ उनले भनिन् । उनले एक जनाको परीक्षणको नतिजा आउन ६ देखि ८ घन्टा लाग्ने पनि बताइन् । ‘कोरोना नै टेस्ट गर्ने किट हामीसँग १२ सयदेखि १५ सय वटा छन् । वीर र अन्य अस्पतालमा रहेका उपकरण र जनशक्ति प्रयोग गरेर हामी यसमा अरु एक हजार बढाउन सक्छौं,’ उनले भनिन्,‘अहिलेको प्रोटोकलअनुसार हामीले आइसोलेसनमा राखिएका विरामीको मात्रै परीक्षण गरिरहेका छौं ।’छलफलमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख डा. सागर राजभण्डारीले डेढ महिनाअघि एक जनामा कोरोना पोजिटिभ देखिएको र उपचारपछि बिरामी ठीक भइसकेको बताए ।‘अहिले दैनिक डेढ सयदेखि दुई सय जना रुघाखोकीका बिरामी टेकुमा उपचारका लागि आइरहेका छन् ।

यसबाहेक विदेश जानका लागि कोरोना लागेको छैन भन्ने सर्टिफिकेट लिन अरु दुई ढाई सय मानिस आउने गरेका छन्,’ राजभण्डारीले भने, ‘हामीले यस्तो सर्टिफिकेट दिने गरेका छैनौं तैपनि मान्छेहरुले ओपिडीबाट रुघाखोकी र ज्वरो छैन भन्ने लेखाएर लैजान खोजिरहेका छन् ।’ उनले कोरोना लागेका संसारभरका बिरामीलाई हेर्दा ८० प्रतिशत मानिसहरुमा सामान्य रुघाखोकी, १५ प्रतिशतलाई अक्सिजनसहितको चिकित्सकीय हेरचाह र ५ प्रतिशतलाई आईसीयू सेवा आवश्यक पर्ने गरेको गरेको भेटिएको बताए । ‘काठमाडौंका ठूला अस्पताल र डाक्टरहरु बढी डराएर मौसमी रुघाखोकीका बिरामीलाई पनि टेकु पठाउने गरेको पाइएको छ,’ उनले भने । छलफलमा सहभागी जनस्वास्थ्यविद् डा. शरद वन्तले विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण नदेखिएका देशहरु पनि जोखिममा रहेको जनाएको भन्दै यसबाट जोगिने तयारीमै बढी जोड दिनुपर्ने बताए ।‘संक्रमण भइहालेमा रोकथाम कसरी गर्ने ? पहिचान कसरी गर्ने ? र, पहिचान भयो भने उपचार कसरी गर्ने ? स्वास्थ्य मन्त्रालयले यसको व्यवस्थापनमा जोड दिनुपर्छ,’ उनले भने । 

अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले सरकारले तोकेकाबाहेक सबै नाकामा कडाइ गरिएको बताए । उनले त्रिभुवन विमानस्थलमा आउने तेस्रो देशका नागरिकलाई एक साताको कोभिड परीक्षणको सर्टिफिकेटबिना प्रवेश गर्न नदिइएको पनि बताए । उनका अनुसार सोमबार त्रिभुवन विमानस्थलबाट जम्मा १ सय ८३ विदेशी आएकोमा १ सय २६ जना भारतीय छन् । त्यस्तै टर्कीबाट १०, बेलायतबाट ६ र अमेरिकाबाट ५ जना आएका छन् । सोमबारै २ हजार ४ सय ४३ जना नेपाली पनि त्रिभुवन विमानस्थलबाट स्वदेश फर्किएका छन् । 

यस्तै, उनले विदेशबाट आउने नेपालीलाई समेत घरमै क्वारेन्टाइनमा बस्न भनिएको र सबैको रेकर्ड राख्नका लागि फाराम भराएर क्वारेन्टाइनमा बस्ने सम्झौता पत्रमा हस्ताक्षर पनि गराइएको बताए ।स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख सागर दाहालले संभावित महामारीको रोकथामका लागि जनचेतना बढाउनु आवश्यक रहेको बताए । उनले स्वास्थ्य मन्त्रालय तथा अन्य मातहतका निकायले स्थितिलाई नियालिरहेको बताए । उनले सबै प्रदेशसँग संयोजन गर्नका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातजना उपसचिव खटाएको पनि बताए । कान्तिपुर दैनिकबाट साभार

तपाईको प्रतिक्रिया