कोभिड-१९ बाट बच्न शान्ति सैनिकलाई उच्च सतर्कता अपनाउन निर्देशन

  चैत ०६, २०७६

काठमाडौँ, चैत ५ : संयुक्त राष्ट्रसंघले कोभिड– १९ सम्भावित संक्रमणबाट जोगिन शान्ति सैनिकलाई नियन्त्रणात्मक र निषेधात्मक उपाय अवलम्बन गरी उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसंघ न्यूयोर्कबाट सतर्कता अपनाउन निर्देशन प्राप्त भएको र सैनिक मुख्यालय जंगीअड्डाबाट समेत शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकलाई निरन्तर आवश्यक निर्देशन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

विश्वव्यापीरुपमा फैलिइरहेको कोभिड–१९ को संक्रमणबाट जोगिन शान्ति मिसनमा तैनाथ नेपाली सेनाद्वारा सचेतना कार्यक्रम र संक्रमणबाट खतरामुक्त रहेको यकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको जनाइएको छ ।

हाल विश्वका ११ वटा मुलुकमा पाँच हजार १०१ जना नेपाली शान्ति सैनिक कन्टिन्जेन्ट र सैनिक पर्यर्वेक्षण कार्यमा संलग्न रहेको सेनाले जानकारी दिएको छ । संक्रमणको जोखिमको मूल्यांकन गरी नेपाली शान्ति सैनिकद्वारा आफ्ना कार्यसञ्चालन तथा अन्य गतिविधि सीमित गरिएको एवं स्थानीय बासिन्दालाई समेत लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

दक्षिण सुडानले एशियाली पाँच मुलुक जनवादी गणतन्त्र चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकको हवाई आवागमनमा रोक लगाएसँगै उक्त देशमा तैनाथ हुन जाने शान्ति सैनिक तयारी हाललाई स्थगन भएको छ ।

सेनाले मिसनमा तैनाथ हुन जाने शान्ति सैनिकलाई तैनाथ पूर्वसचेतना कार्यक्रम सञ्चालन गर्ने, आवश्यक मेडिकल उपकरण र जनशक्तिको व्यवस्था गर्ने काम गरिरहेको छ । स्वास्थ्य परीक्षण गरी कोरोनामुक्त भएको यकीन गरेपछि मात्र मिसनमा तैनाथ गर्नका लागि आवश्यक व्यवस्था मिलाएको जानकारी राष्ट्रसंघ मिसन हेडक्वार्टरमार्फत दक्षिण सुडान सरकारलाई गराइसकेको सेनाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया