विश्वभर ८५ करोड विद्यार्थीको पढाइ प्रभावित हुने

  चैत ०६, २०७६

पेरिस, चैत ५ : विश्वका विद्यार्थीमध्ये झण्डै आधा संख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट वञ्चित बनेका छन् ।

विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस संक्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)ले बुधबार जनाएको छ ।

युनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ । युनेस्कोका अनुसार विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् । यसमध्ये १०२ मुलुकमा विद्यालय पूर्णतया बन्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंंशिकरूपमा बन्द भएका छन् ।

युनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण संक्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ ।

तपाईको प्रतिक्रिया