दुई साताका लागि मलेसिया प्रवेश रोक

  चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली श्रमिक बढी प्रभावित हुनेछन् । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन् ।

नेपाली श्रमिकका लागि मलेसिया, कतार र साउदी अरब पछिकोे प्रमुख श्रम गन्तव्य मुलुक मानिन्छ । कतारले पनि विदेशी नागरिकलाई प्रवेश नगराउने भनेर यसअघि नै सूचना गरिसकेको छ । मलेसियाबाट नेपाल फर्कन चाहनेका लागि भने कुनै अवरोध नरहेको राजदूतावासले विज्ञप्तिमार्फत प्रस्ट पारेको छ । मलेसियन नागरिकलाई भने विदेश जानसमेत रोक लगाइएको गोरखापत्र अनलाइनले जनाएको छ ।

दूतावासले विज्ञप्तिमार्फत मलेसिया सरकारले जमघट, भेलालगायतका अन्य सामाजिक भेटघाट गर्ने क्रियाकलापमा रोक लाएकाले मलेसिया रहेका नेपालीलाई जमघट नगर्न आग्रह गरेको छ । दुई हप्तासम्म मलेसियाका अति आवश्यक सेवा प्रदान गर्ने सरकारी निकायबाहेक अन्य सबै सरकारी वा विद्यालय, विश्वविद्यालय बन्द हुनेछन् ।

दैनिक उपभोगका सामग्री र सेवा पाउने पसल, सुपरमार्केट, औषधि पसल, अस्पताल, यातायात, प्रहरीलगायतका महìवपूर्ण सेवा दिने निकाय भने खुला नै रहने छन् । मलेसियामा अहिलेसम्म ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५२४ जनाले उपचार गराइरहेको मलेसिया सरकारले जनाएको छ । मलेसियामा पाँच लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ तर अहिलेसम्म मलेसियामा कार्यरत नेपाली श्रमिकमा भने कोरोनाको सङ्क्रमण देखिएको छैन ।

कोरोनाको सङ्क्रमण बढ्दै जाँदा कतारमा कार्यरत नेपाली श्रमिकमा पनि त्रास बढ्दै गएको छ । क्याम्पमा निगरानी बढाएको र कतिपय श्रमिकलाई डिपोर्ट गरिएको छ । कतारमा कार्यरत केही श्रमिकलाई डिपोर्ट गरिएको सम्बन्धमा नेपालबाट परराष्ट्र र कन्सुलर सेवाबाट चिठ्ठी आएको तर त्यस सम्बन्धमा दूतावासले जानकारी लिइरहेकाले अहिले नै कति श्रमिक डिपोर्ट भए र किन गरियो भनेर भन्न सकिने अवस्था नरहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । तर त्यहाँ कार्यरत श्रमिकलाई कोरोनाको त्राससँगै समस्या पनि बढ्दै गएको छ ।

‘दूतावासले विज्ञप्तिमार्फत आफ्ना देशका नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र कोठाभित्रै बस्न आग्रह गर्दै आएको छ । कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने त्यहाँ कार्यरत केही श्रमिकलाई डिपोर्ट गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सार्वजनिक बसदेखि होटल, रेस्टुरेन्टहरू बन्द छन् । यस्तो अवस्थामा भीडभाडमा जाँदा प्रहरीले पक्राउ गर्नसक्ने सम्भावना भएकाले भीडभाडमा नजान र सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ । कतारमा अहिलेसम्म ४३९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये चार जना उपचारपछि निको भएका छन् भने ४३५ जनाले उपचार गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया