गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषिगाउँ’ बन्ने

  चैत ०५, २०७६

कास्की, चैत ५ : गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमूना कृषिगाउँ’ बनाउने भएको छ । प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई ‘नमूना कृषिगाउँ’ बनाउने भएको हो ।

गत वर्ष पनि प्रदेश सरकारले प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमा एक÷एक ‘नमूना कृषिगाउँ’ छनोट गरेको थियो । व्यावसायिक कृषि उत्पादनका माध्यमबाट पाँच वर्षभित्रमा आधारभूत खाद्य उत्पादनमा आत्मर्निभर बन्ने लक्ष्यका साथ प्रदेश सरकारले नमूना कृषिगाउँलाई प्राथमिकतामा राखेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बताउनुभयो ।

प्राविधिक शिक्षा तथा तालिम परिषद्अन्तर्गत धवलागिरि पोलिटेक्निक इन्स्टिच्युट बागलुङले मङ्गलबार पोखरा–१६ अर्मलामा आयोजना गरेको ३९० घण्टाको बेमौसमी तरकारी खेती तालिमको उद्घाटन गर्दै उहाँले नमूना कृषिगाउँ कार्यक्रमलाई निर्वाचन क्षेत्र, पालिका तथा वडातहसम्म विस्तार गरेर बढीभन्दा बढी कृषि उत्पादन गर्ने सरकारको नीति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “व्यावसायिक उत्पादनका लागि कृषकलाई तालिम, प्रविधि हस्तान्तरण र माटोअनुसारको उत्पादनको सम्भावना पहिल्याउँदै कृषकलाई सुविधा प्रदान गर्ने नीति कार्यक्रम सरकारको छ ।”

प्रदेशका ८५ वटै स्थानीय तहमा कृषि उत्पादन ‘ब्लक’ तथा प्रत्येक वडामा ‘पकेट’ क्षेत्र बनाउने गरी सम्भावना, वस्तुगत आवश्यकता तथा जनचासोका आधारमा गाउँ–गाउँमा कार्यक्रम लगिने उहाँले स्पष्ट पार्नुभयो ।

इन्स्टिच्युटका शिक्षालय प्रमुख बज्रमोहन पौडेलले स्थानीयवासीलाई सीप सिकाउँदै पोख्त बनाउने र अग्र्यानिक तरकारी उत्पादन गर्दै आयआर्जनमा सघाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रत्येक दिन ६ घण्टाका दरले ६५ दिनसम्म तालिम सञ्चालन हुने र तालिमका अवसरमा कृषकहरूलाई विभिन्न प्रकारका बेमौसमी तरकारी खेती, विषादी परीक्षण, भण्डारण तथा बिक्री वितरणका बारेमा ज्ञान दिइने प्रशिक्षक दुर्गाबहादुर गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया