एसइईको सबै तयारी पूरा

  चैत ०५, २०७६

महोत्तरी, चैत ५ : भोलिबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसइई) का लागि महोत्तरीमा सबै तयारी पूरा भएको छ । परीक्षा केन्द्रको सुरक्षा व्यवस्था, परीक्षा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, अनुगमन र हेल्थ डेस्कसहितको तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको हो ।

महोत्तरीमा यस वर्ष आठ हजार ३२९ परीक्षार्थी एसइई परीक्षामा सामेल हुँदैछन् । यो परीक्षाका लागि जिल्लामा ३० परीक्षा केन्द्र व्यवस्था गरिएका छन् । सबै परीक्षा केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्नुका साथै आकस्मिक स्वास्थ्य डेस्कको प्रबन्धसमेत मिलाएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । परीक्षालाई मर्यादित बनाउन आवश्यक सुरक्षा प्रबन्ध र सघन अनुगमनको व्यवस्था मिलाएको समितिले जनाएको छ । परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रदेश शिक्षा विकास निर्देशनालय र जिल्ला परीक्षा समन्वय समितिबीच आवश्यक समन्वय भइरहेको छ । यसपालि महोत्तरीसहित प्रदेश नं २ का आठ जिल्लाबाट कूल ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुँदैछन् ।

प्रदेशका आठै जिल्लामा २६७ परीक्षा केन्द्र व्यवस्थापन गरिएको छ । यसपालिको परीक्षामा प्रदेशभित्र सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट सात हजार ७०५ परीक्षार्थी सहभागी हुँदैछन् । धनुषामा ४३ र रौतहटमा ३० परीक्षा केन्द्र तोकिएको प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधामका निर्देशक चुडामणि फुँयालले जानकारी दिनुभयो । परीक्षा मर्यादितरूपमा सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिको नेतृत्वमा सुरक्षा, स्वास्थ्य सचेतना र आकस्मिक उपचारकक्ष, अनुगमनको आवश्यक प्रबन्धका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको निर्देशक फुँयालले बताउनुभयो । सप्तरीमा नौ हजार सहभागी हँुदै राजविराज– सप्तरीबाट नौ हजार १४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन् । तीमध्ये चार हजार ५३१ छात्र र चार हजार ६०९ छात्रा रहेको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका प्रमुख फणिन्द्र खत्रीले जानकारी दिनुभयो । नियमिततर्फ आठ हजार ४६८, एक्जाम्टेडतर्फ १३६ र अपग्रेडिङतर्फ ५३३ विद्यार्थीले सो परीक्षामा सहभागिता जनाउँदैछन् । परीक्षाका लागि जिल्लामा ३४ परीक्षा केन्द्र तोकिएको छ । जसमध्ये ३३ परीक्षा केन्द्र नियमिततर्फका विद्यार्थीका लागि र एउटा केन्द्र एक्जाम्टेड र अपग्रेडिङका विद्यार्थीका लागि निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खत्रीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया