अस्ट्रेलियामा संक्रमित नेपालीको उपचार

  चैत ०५, २०७६

काठमाडौं, चैत ५ : अस्ट्रेलियामा कोरोना (कोभिड–१९) पुष्टि भएका एक नेपाली युवा स्वस्थ भएका छन् । उपचारपछि स्वस्थ भइसकेका उनलाई चिकित्सकले थप केही दिनका लागि निगरानीमा राखेको नेपाली दूतावासले जनाएको छ । 

‘कोरोना संक्रमित भएका नेपाली अहिले निको भएका छन् र चिकित्सकले उनलाई अझै साथीहरूसँग जान दिएका छैनन् । केही दिन उनलाई निगरानीमा राखिने सूचना पाएका छौँ,’ अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले मंगलबार टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘उनले नै आफ्नोबारेमा सार्वजनिक नगरिदिनुस् भनेकाले हामी उनको व्यक्तिगत विवरण भने भन्दैनौँ ।’ 

युवाले आफैँ परिवारसँग सम्पर्क गरेको र दूतावासले प्रधानमन्त्री कार्यालयमार्फत परिवारका सदस्यसँग समन्वय गरेर उनीहरूको पनि स्वास्थ्य जाँच गराएको राजदूत दाहालले बताए । युवाको नेपालस्थित परिवारका सदस्यमा पनि कोरोना नदेखिएको उनले स्पष्ट पारे । ‘कोरोना संक्रमित नेपाली निको भइसकेका छन् । परिवारमा पनि कोरोना नभएको पुष्टि भएको छ । अब यस विषयमा चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘यसबारे सरकारलाई पनि जानकारी भइसकेको छ ।’ 

परराष्ट्र मन्त्रालय स्रोतले भने अस्ट्रेलियाको दूतावासबाट ती युवाको व्यक्तिगत विवरण प्राप्त नभएको र उनको उपचार भइरहेको मात्रै सूचना आएको जानकारी दिएको छ । ‘क्यानबेराबाट युवा भएको ठाउँ टाढा रहेको र त्यहीँको स्थानीय प्रतिनिधि खटाएर दूतावासले जानकारी लिइरहेको हामीलाई रिपोर्ट गरेको छ,’ परराष्ट्र स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘उनको परिवारको अवस्था के छ भन्नेबारे आधिकारिक जानकारी छैन ।’ 

ती युवा नेपालबाट सिंगापुर हुँदै १४ फागुनमा अस्ट्रेलिया पुगेका थिए । कोरोना भएको सूचना २५ फागुनमा त्यहाँको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई दिएको थियो । नेपालमा परिवारका सदस्यमा कोरोना पोजेटिभ नदेखिएकाले उनलाई सिंगापुर ट्रान्जिटमा संक्रमण भएको हुन सक्ने जानकारी पाएको राजदूत दाहालले बताए । लामो ट्रान्जिटमा रहँदा उनी बाहिरसमेत निस्किएका थिए । 

हाल होटेलमै आइसोलेसनमा 

अस्ट्रेलिया पुग्नासाथ अस्पताल पुगेका युवालाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरेका थिए । तर, उनले अटेर गरेर रेस्टुरेन्टमा काम जारी राखेका थिए । स्वास्थ्य धेरै खराब भएपछि फेरि अस्पताल पुगेका थिए । त्यसपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । 

हाल उनी तासमानियाको होबार्ट भन्ने ठाउँमा छन् । यो ठाउँ मेनल्यान्ड अस्टे«लियाबाट दुई सय ४० किलोमिटर दक्षिणमा पर्छ । तासमानियाकी पब्लिक हेल्थ सर्भिससम्बन्धी निर्देशक मार्क भेइटेकलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार ती युवाले होबार्टको ग्रान्ड चान्सलर होटेल तथा होटेलको रेस्टुरेन्टमा काम गरेका थिए । उनलाई अहिले होटेलमै आइसोलेसनमा राखिएको छ । 

उनले १७ र १८ फागुनको साँझ पाँच बजेदेखि राति ११ बजेसम्म होटेलमा काम गरेका थिए । २३ फागुनमा कार्गो रेस्टुरेन्ट एन्ड ओ बारमा राति १० बजेदेखि बिहान २ बजेसम्म थिए । त्यही दिन उनी छोटो समय पार्लियामेन्ट लावन्जमा पनि थिए । रोयल होबार्ट हस्पिटलमा २३ फागुनमा स्वास्थ्यजाँचका क्रममा कोरोना भेटिएको थियो । 
त्यहीँ नै उनको परिवारका चारजना र तीनजना साथीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको थियो । उनीहरू सबै सकुशल रहेको दूतावासले जनाएको छ । ती युवा आइडिएल कलेजमा एड्भान्स डिप्लोमा अफ लिडरसिप एन्ड मेनेजमेन्ट पढिरहेका छन् । 

युएईमा संक्रमति दुई नेपालीको उपचार जारी
युनाइटेड अरब इमिरेट्स (युएई)मा पनि दुई नेपालीलाई कोरोना संक्रमण भएको छ । उनीहरूको आबुधाबी अस्पतालमा उपचार चलिरहेको छ । दुवैजनाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नयाँ पत्रिकालाई बताए । ‘उनीहरूको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी हामीलाई छ,’ ढकालले भने ।

तपाईको प्रतिक्रिया